काठमाडौं- मधुमेह भएका व्यक्तिसँगै उनीहरुको परिवार र समाजलाई पर्ने मानसिक र आर्थिक प्रभावबारे सम्बोधन गर्न जरुरी रहेको सरोकारवालाले बताएका छन्। काठमाडौंमा शुक्रबारबाट सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बोल्दै चिकित्सकहरुले उक्त कुरा बताएका हुन्।
मधुमेहको उपचार गर्ने चिकित्सक, बिरामी तथा परिवारका सबै सदस्यहरु मिलेर यस समस्याको समाधान गर्नुपर्नेमा उनीहरुको जोड थियो।
कार्यक्रममा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष डा डीना श्रेष्ठले मधुमेह, थाइराइड तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको विरुद्ध व्यतिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भईरहेको लडाईमा एकजुट हुनुपर्ने बताईन्।
यस्ता जटिल एउटा देशले एक्लै काम गर्नुभन्दा विभिन्न देशका सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने चिकित्सकहरुको भनाई थियो।
काठमाडौंमा आजबाट सुरु भएको सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत हुने छन्। सम्मेलनको सुरुवातमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र मधुमेह भाग-२ को प्रिमियर शो गरिएको थियो।
साथै सम्मेलनमा थाइराइड सम्बन्धी समस्याको पहिचान उपचार तथा रोकथामको लागि अनुसन्धान मूलक निर्देशिका प्रस्तुत गरिने छ।
साफिस दक्षिण एसियाली राष्ट्रहरुमा रहेका इन्डोक्रीनोलोजी एसोसिएसनको छाता संघठन हो। यस संस्थामा बंगलादेश,भारत,अफगानिस्तान, श्रीलंका, पाकिस्तान माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटीहरु आवद्द छन्।