काठमाडौं- चिकित्सकले एचथ्रीएनटू इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन्। उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन्।
एम्सका पूर्व निर्देशक डा रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन्। वृद्धवृद्धाका साथै पहिले नै अन्य रोगबाट ग्रसितहरुलाई यसले समस्या सिर्जना गर्न सक्ने उनीहरुको चेतावनी छ।
त्यस्तै, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य विज्ञहरुसँग एचथ्रीएनटु इन्फ्लुएन्जाको बढ्दो मामिलाबारे छलफल गरेको छ। छलफलमा विज्ञहरुले देशमा कोरोनाका केसहरु कम भए पनि इन्फ्लुएन्जाका केसहरु बढिरहेको बताएका थिए । उनीहरुले प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरुका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चेतावनी दिएका थिए।
पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कयौँ क्षेत्रमा इन्फ्लुएन्जको मामिला बढिरहेका छन्। कोरोनापछि फ्लुका केसहरु बढेसँगै मानिसहरु डराएका छन्। किनभने यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको छ।
मेदान्ता अस्पतालको आन्तरिक चिकित्सा विभागका शीर्ष निर्देशक सुशीला कटारियाका अनुसार इन्फ्लुएन्जा–ए भाइरसको एचथ्रीएनटु स्ट्रेनबाट संक्रमितहरुलाई २–३ दिनसम्म ज्वरो आउने गर्दछ। त्यस्तै शरीर दुख्ने, टाउको दुख्ने र घाँटी पोल्ने समस्या देखिन्छ भने खोकी दुई हप्तासम्म जारी रहन्छ। यसलाई फ्लुको सामान्य लक्षणमा राखिन्छ। एजेन्सी