काठमाडौं- स्वास्थ्य बिमाका लागि सर्वसाधरण नागरिकहरुले तिरेको झण्डै २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर एक स्वास्थ्यकर्मी फरार भएका छन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिअहेब (छैटौं तह) मोहम्मद फिरोज अली बिमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहिन भएका हुन्।
बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ती स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहिन भएका हुन्। उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए।
सिअहेब अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ। प्रिमियम रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो।
चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उनको नाममा पत्र काटेको थियो। तर त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा सार्वजनिक सूचनामा उल्लेख छ। अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई समेत पत्राचार गरेपनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ।
बोर्डले फागुन २९ मा सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।
हेरौं पत्र