बैतडी - जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गरिएको छ। यहाँका १० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो।
हरेक स्थानीय तहमा घरघुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। यहाँ जन्मेदेखि पाँच वर्षमुनिका २५ हजार बालबालिका छन्। यी बालबालिकाको घरधुरी सर्वेक्षणपश्चात् खोप लगाउन छुटेका भेटिए खोपको दायरामा ल्याइने उनले बताए।
तालिकाअनुसार खोप लगाउने उमेरसमूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिनेछ। पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हाल प्रत्येक पालिकामा जनप्रतिनिधि र सरोकारवालासँग अन्तक्र्रियात्मक छलफलसमेत गर्ने गरिएको प्रमुख भट्टले जानकारी दिए।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ। हरेक स्वास्थ्य संस्था र खोप क्लिनिकमा तालिकाअनुसार खोप दिने गरिएकामा छुटेका भए यस अभियानमा दिने बताइएको छ। पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गरिने छ।
आगामी वैशाखलाई ‘खोप महिना’का रुपमा मनाउने र त्यो बेला पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। विसं २०७२ असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ। रासस