काठमाडौं– पेटमा सिसाको बोतल भेटिएका नुर्साद मन्सुरीको स्वास्थ्यमा सुधार भइरहेको छ।
भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए।
ठूलो आन्द्रामा सिसाको बोतल भेटिएका रौतहटका एक बिरामीको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा शल्यक्रिया गरी निकालिएको छ।
मेडिकल कलेजका ग्यास्ट्रो इन्टेस्टटाइन सर्जन डा नारायण बेलबासेको नेतृत्वमा चिकित्सकहरुले रौतहटका २६ वर्षीय एक युवकको ठूलो आन्द्रामा रहेको करिब ५०० एमएलको सिसाको बोतल निकालेका हुन्।
डा बेलबासेका अनुसार ती युवक पुरानो मेडिकल कलेजमा आइपुग्दा बिरामीको ठूलो आन्द्रामा बोतल रहेको तीन दिन भइसकेको थियो।
रौतटहको चन्द्रपुर अस्पतालमै एक्सरे गर्दा पेटभित्र ठूलो आन्द्रामा बोतल देखिएपछि रेफर भएका ती युवकको पुरानो मेडिकल कलेज चितवनमा पुनः एक्सरे गर्दा बोतलले ठूलो आन्द्रामा समेत असर गरेको भेटिएको थियो।
बिरामीको ठूलो आन्द्रामा समेत बोतलले प्वाल पारिसकेको पाइएपछि सोमबार बिहान साढे ६ बजे चिकित्सकहरुले अप्रेसन थिएटरमा लगेका थिए।
चिकित्सकहरुले शल्यक्रिया गरेर हेर्दा ठूलो आन्द्रामा २ सेन्टिमिटर प्वाल परेर दिसा समेत शरीरमा फैलिएको र आन्द्र सुन्निएको अवस्था थियो। बिरामीको रगतको गणना कम्तिमा ४ हजार परमाइक्रोलिटर हुनुपर्नेमा घटेर ३ हजारमा आइसकेको थयो।
रगतको संक्रमण हुँदा रगतको गणना झन् बढेको हुनुपर्ने अवस्थामा घट्नु भनेको सेप्सिसको अवस्थामा बिरामी पुगिसकेको डा बेलबासेले बताए।
चिकित्सकको टोलीले साढे २ घण्टा लामो अप्रेसन गरेर बोतल निकालेर प्वाल परेको आन्द्राको पनि उपचार गरिएको थियो।