काठमाडौं– जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको छ।
अदालले सोही मुद्दामा परेका बाँकी १५ जनालाई सफाइ दिएको छ। न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने/दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाइ दिएको हो।
को- को भए दोषी ठहर?
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुइँटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कूल १९ जना आरोपित रहेकोमा चार जनालाई कसुर ठहर हुने फैसला भएको छ।
दोषी ठहर हुनेहरुमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई, दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास रहेका छन्।
यस्तै नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्तासमेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोषी ठहर गरेको छ।
सूचना अधिकारी लुइटेलले बाँकी १५ जनामध्ये एक जना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेजी भएको र अन्य १४ जनाले यस अभियोगबाट सफाइ पाएको बताए।
क–कसले पाए सफाइ?
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का मानव अङ्ग प्रत्यारोपण स्वीकृत समितिका सदस्यहरुले यस अभियोगबाट सफाइ पाएका छन्।
सफाइ पाउनेमा समितिका संयोजक डा बालकृष्ण कालाखेती, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले रहेका छन्।
यस्तै सो कलेज मा कार्यरत डा भूषण तिमिल्सिना, डा राकेश बर्मा, ललितपुर महानगरपालिका वडा न – ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका नबराज केसी र रामकुमार केसीले पनि सफाइ पाएका छन्।
यस्तो थियो घटना?
पुरानो मेडिकल कलेजमा २७ जेठ २०७६ मा भएको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण गैरकानुनी रहेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले २७ असार २०७७ मा विशेष अपरेशन नै चलाएर प्रत्यारोपणसँग जोडिएका चिकित्सक, वडाध्यक्षदेखि बिरामीसम्मलाई नियन्त्रणमा लिएको थियो।
ब्यूरोले सुरुमा मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीका साथ अनुसन्धानलाई अगाडी बढाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले अभियोजनको क्रममा सो मुद्दा मानव बेचबिखनसम्बन्धी कसुरमा चल्न नसक्ने भन्दै मानवको अंग प्रत्यारोपणसम्बन्धी कसुरबाट चलाउन पर्ने बताएको थियो।
त्यसपछि उजुरीकर्तासमेत प्रतिवादी हुने भनि अभियोजनसम्बन्धी निर्क्योल गरे पश्चात अनुसन्धान गर्ने कार्यालय ललितपुर जिल्ला प्रहरी परिसरमा स्थानान्तरण भइ १९ साउन २०७७ का दिन जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो।
मानव अंग प्रत्यारोपण (नियमित र निषेध) गर्ने ऐन, २०५५ अनुसार दायर मुद्दाको फैसला गत २५ माघमा भएको थियो।
न्यायाधीश धर्मराज पौडेलको इजलासबाट भएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने/दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाइ दिएको हो।
अदालतले सो मुद्दामा उजुरीकर्ता बबरमहल २२ संकेत राखी अनुसन्धान अघि बढाइएकोमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरबाट अभियोजनको क्रममा प्रतिवादी कायम भएका र नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास र नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोषी ठहर गरेको छ।
नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भन्दै प्रहरीको मानव बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले बेनामी उजुरी परेपछि मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा आफ्नो विशेष अपरेशनमा पक्राउ नपरेका फरारप्रतिवादीहरु बबरमहल २८ र गीता देवी बतास साथै ब्यूरोले तोकेको उजुरी कर्ता बबरमहल २२ नै दोषी ठहर भएको छ।