काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक वर्षमा २ लाख महिलाले सेवा लिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा अस्पतालबाट १ लाख ९९ हजार ३९ जना महिलाले स्वास्थ्य सेवा लिएको तथ्यांक रहेको छ।
अस्पतालमा सेवा लिने आउनेमध्ये सबैभन्दा धेरै गर्भवतीको समयमा परीक्षणका लागि आउने महिलाहरु छन्।
अस्पतालका निर्देशक डा पवनजंग रायमाझीका अनुसार एक वर्षमा ६७ हजार ९८६ महिला गर्भवती अवस्थामा परीक्षणका लागि आएका थिए। यस्तै, २४ हजार ३६९ ले मूल प्रसूति सेवा लिएका छन् भने ९ हजार ११८ जना महिलाले शल्यक्रिया सेवा मार्फत प्रसूति गराएका छन्।
एक वर्षमा पाठेघर खस्ने समस्या भएका २२६ जना महिलाको शल्यक्रिया गरिएको डा रायमाझीले जानकारी दिए।
यस्तै, १ हजार ४८३ जनाले गर्भपतन सेवा लिएका छन् भने परिवार नियोजन ओपिडीमा ७ हजार २४५ जनाले सेवा लिएका छन्।
यस्तै, निसन्तान क्लिनिकमा ६ हजार ५२९ ले सेवा लिएका छन् भने आईयुआई सेवा ३१६ र आइभिएफ सेवा ११ जनाले लिएका छ।
यस्तै, स्त्रीरोगको ओपिडी सेवा लिन एक वर्षमा मात्र ३२ हजार ८६९ महिलाहरु अस्पताल पुगेका छन्। जसमध्ये २ हजार ७९१ जनाले स्त्री रोग शल्यक्रिया सेवा लिएका छन्।
डा रायमाझीका अनुसार पछिल्लो समय ओपिडीमा धेरैजसो महिलाहरु तल्लो पेट दुख्ने, सेतो पानी बग्ने महिनावारी नियमित नहुने लगायतका समस्या लिएर अस्पताल आउनेहरु बढेका छन्।
अस्पालमा यौनजन्य रोगका १ हजार ४६८ बिरामी उपचारका लागि आएका छन्।
डा रायमाझीका अनुसार गर्भावस्थामा रगत बगेर २ हजार १८६ जना, पाठेघरमा मासु पलाएर २९९, महिनावारी अनियमित भएका ४२० बिरामीले भर्ना भएरै उपचार सेवा लिएका थिए।
यस्तै हाइपरमेसिस ग्राभिडारुम ३३३, मोलर प्रग्निेन्सी २२८, एड्नेक्सल सिस्ट १८३, एक्टोपिक प्रिग्नेन्सी २१८ र क्यान्ससँग सम्बन्धीत २४ जनाले पनि एक वर्षमा सेवा लिएका छन्।
अस्पतालका निर्देशक डा रायमाझी पछिल्लो समय प्रसूति गृहबाट प्रसूति तथा स्त्रीरोगको उपचार सेवा लिनेहरुको संख्या बढ्दै गएको बताउँछन्।
गर्भपरीक्षण र र प्रसूति सेवा बाहेक स्त्री रोग सम्बन्धी समस्याहरु गर्भ अवस्थमा रगत बग्ने, पाठेघरमा मासु पलाउने, महिनावारी अनियमित हुने, पाठेघर खस्ने समस्या लिएर उपचारका लागि आउने बिरामीहरु बढी रहेको अस्पतालका सहायक निर्देशक एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सन्देश पौडेलले जानकारी दिए।
बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति भने पर्याप्त नभएको उनले बताए।
‘हाम्रो अस्पतालमा वार्षिक २ लाख महिलाहरु प्रसूति तथा स्त्री रोग सेवा लिन आउँछन्। प्रसूति गृह मात्र होइन, नेपालभरकै सरकारी अस्पतालको समस्या भनेको बिरामीका लागि पर्याप्त शय्या र जनशक्ति नहुनु नै हो,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनकै मापदण्ड अनुसार दिनुपर्ने सेवाहरु हामीले जनशक्ति कम हुँदा दिन सकेका छैनौं।’
रेफरल सेन्टर भएका कारण प्रसूति गृहले बिरामीलाई फर्काउन नमिल्ने र जति बिरामी आएपनि सेवा दिनुपर्ने डा पौडेलले बताए।
प्रसूतिको केस बाहेक स्त्री रोगहरुको अप्रेसन नै गर्नुपर्ने अवस्थाका बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको डा पौडेलको भनाइ छ। स्त्री रोगका बिरामीले अप्रेसन गर्नुपर्ने अवस्थामा दुई वा तीन हप्ता पालो कुर्नुपर्ने उनले जानकारी दिए।
महिलामा देखिने मुख्य रोग तथा समस्या र कारण के हो? डा पौडेलको भनाइ उनकै शब्दमाः
प्रसूति र गर्भावस्था बाहेका महिलामा हुने समस्याहरु उमेर समूहको आधारमा फरक–फरक हुन्छ। जस्तैः किशोरीहरुमा महिनावारीको समस्यामा सुरुवाती महिनावारीदेखि महिनावारी सुरु भएको ३/४ वर्षसम्म महिनावारी अनियमित हुने, अत्याधिक पेट दुख्ने समस्या भएर आएका हुन्छन्। किरोशीहरुमा यस्तो समस्या देखिनु भनेको पाठेघर र अण्डा राम्रोसँग परिपक्क नभएको कारण पनि हुनसक्छ। विस्तारै उमेर बढ्दै गएपछि अत्याधिक रत्तश्राव हुने समस्या आफैं पनि कम हुँदै जानसक्छ।
महिनावारीकै कुरा गर्दा प्रजनन् उमेर समूहका महिलाहरुमा महिनावारीमै हुने समस्याको कारण फरक हुनसक्छ। पाठेघरमा मासु पलाएको छ भने महिनावारी हुँदा पेट दुख्ने, अत्याधिक रत्तश्राव हुने, रक्तअल्पताको समस्या हुने हुनसक्छ। अर्को समस्या पाठेघरमा संक्रमण भएर योनीबाट फोहोर पानी बग्ने, योनी चिलाउने समस्याहरु पनि हुन्छ। जसले गर्दा शारीरिक सम्पर्क गर्दा दुख्ने, तल्लो पेट दुख्ने, हिँड्डुल गर्दा वा काम गर्दा पेट दुख्ने हुनसक्छ।
प्रजनन् उमेरका महिलाहरुमा योनीमै हुने समस्याहरु पनि धेरै किसिमका हुनसक्छन्। गन्हाउने पानी बग्ने, पिप जस्तो बग्ने, योनी चिलाउने लगायतको समस्याहरु लिएर पनि महिलाहरु आउछन्।
महिलाहरुमा पाठेघरमा मासु पलाउने समस्या जेनेटिक पनि हुनसक्छ। महिलाहरुको जीवनकालमा करिब ५० प्रतिशत महिलाहरुमा कुनै न कुनै समयमा पाठेघरमा मासु पलाउन सक्छ। त्यो मासु ठूलो पलाउने वा अप्रेसन नै गर्नुपर्ने अवस्थाको भने सबैमा हुँदैन। कतिपय महिलाहरुलाई पाठेघरमा मासु पलाए पनि केही समस्या हुँदैन, महिनावारी सुकेपछि मासु पनि आफैं सुक्दै जानसक्छ। यस्तोमा पूरै मासु हराएर त जादैन तर कम हुन्छ। यस्तो महिलाहरुको उपचार हामीले लक्षण छ भने गर्छौं। जस्तो महिनावारी हुँदा अत्याधिक रगत बग्ने, अत्याधिक पेट दुख्ने, मासु ठूलो भएर पिसाब थैलीमा प्रेसर गर्ने, छाम्दा ठूलो रहेछ भने अप्रेसन गर्नुपर्छ। यदी यस्तो छैन भने केही नगर्दा पनि हुन्छ।
महिलाको शरीर फरक फरक हुन्छ। कुनै महिनाको पाठेघरमा ५ सेमी मासु पलाएको छ भने कुनै असर नदेखिन सक्छ, कसैलाई भने असर देखिन सक्छ। यसको उपचार लक्षण अनुसार गर्छौं। यो मासु पलाउने समस्या भनेको क्यान्सर बाहेकको हो।
गर्भावस्थामा रगत बग्नु भनेको चाँही गर्भपतनको लक्षण हुनसक्छ। सामान्यतया १५ प्रतिशत गर्भवतीमा गर्भ खेर जाने अवस्था वा रक्तश्रावको समस्या लिएर पनि आउन सक्छन्। यस्तो समस्या देखिनु भनेको गर्भमा बच्चा राम्रोसँग नबसेको, बच्चा बस्ने घर मात्रै बनेको तर बच्चा राम्रोसँग नबसेको अवस्थामा गर्भवतीमा सुरुसुरुमा यस्तो लक्षण देखिन्छ। यस्तो अवस्थामा गर्भवतीलाई स्वास्थ्य परीक्षण गरेर औषधि दिन्छौं। अवस्था अनुसार भर्ना गर्ने वा घरमै आराम गर्ने सल्लाह दिन्छौं।
अर्को समस्या भनेको महिनावारी सुकेपछि वा महिनावारी सुक्ने समयमा पाठेघर खस्ने समस्या धेरै महिलामा छ। यस्तो समस्यामा कतिपयको पाठेघरको अप्रेसन नै गर्नुपर्ने हुन्छ भने कसैलाई व्यायाम सिकाउने गर्छौं। कसैकसैलाई भने रिङ नै राखेर पनि पठाउछौं। महिनावारी सुकिसकेको अवस्थामा पाठेघर धेरै खसेको, रगत बग्ने समस्या भएको छ भने अप्रेसन गरेर पाठेघर नै फाल्ने उपचार पनि गर्छौं।