काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेललाई उनको पार्टीका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी लगायतको साथ थियो।
एमालेबाट उम्मेदवार बनेका नेम्वाङलाई भने एमालेको मात्रै समर्थन थियो। अन्य पार्टीले उनलाई सघाउने घोषणा गरेका थिएनन्।
राप्रपा र नेमकिपाले पनि पार्टीगत निर्णय नै गरेर मतदान प्रक्रियामा भाग लिएनन्।