काठमाडौं- महिला स्वास्थ्यको क्षेत्रमा राज्यले लगानी बढाउदै गएको सरोकारवालाहरुले बताएका छन्।
काठमाडौंमा बिहिबारदेखि सुरु भएको महिला स्वास्थ्य सम्मेलनमा 'महिला स्वास्थ्यका मुद्दा, चुनौती र वर्तमान अवस्था' शिर्षकको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्।
संचारकर्मी निता सापकोटाले सहजीकरण गरेको उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रा कौशल, त्रिवी शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्राडा सरोज प्रसाद ओझा र अष्ट्रेलियन एम्बेसीकी कामाक्षि राई याकतुम्बा वक्ताको रुपमा थिए। डा मिश्राले महिलाको स्वास्थ्य सुधार गर्न किशोरीहरुमा जनचेतनामूलक कार्यक्रम र मानसिक स्वास्थ्यमा महिला केन्द्रित कार्यक्रम गर्ने योजना रहेको बताइन्।
त्यस्तै महिलाहरुको प्रजनन् स्वास्थ्यको लागि फरकफरक कार्यक्रमहरु भईरहेको र स्थानीय तहमा बर्थीङ सेन्टरको लागि म्यापीङ भईरहेको बताईन्।
त्यस्तै, प्राडा ओझाले महिलाको मानसिक स्वास्थ्यलाई बायोलोजीकल पक्षसहित सामाजिक संरचनाले समेत निर्धारण गर्ने बताए। हिंसा, अशिक्षा, बेरोजगारी, अवसरबाट बञ्चित हुने लगायत सामाजिक पक्षहरुको कारण महिलाहरु पुरुषको तुलनामा बढी मानसिक स्वास्थ्य समस्याबाट पिडित हुने उनले बताए।
अष्ट्रेलियन एम्बेसीकी कामाक्षि राईले रोगको उपचार गर्न मात्रै लागेमा स्वास्थ्य प्रणाली बलियो नहुने धारणा व्यक्त गरिन्। रोग लागिसकेपछि उपचारमा जानु भन्दा पनि रोगहरु कसरी लाग्न नदिने भन्ने पाटोमा काम गर्नुपर्ने उनको जोड थियो। 'नेपालमा महिला स्वास्थ्यमा मुख्य समस्याको रुपमा रहेको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरु कम गर्न किशोरकिशोरीहरुलाई सचेत बनाउन जरुरी देखिन्छ। हरेक समस्याको दर मात्रै घटाएर मात्रै समस्या घट्दैन, समस्याको जड पत्ता लगाउने हो भने समस्या पनि घट्छ र दर पनि स्वत घट्छ,'उनले भनिन्।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह आफूहरुको मुख्य केन्द्रमा रहेको डा कौशल बताउँछिन्। उनले भनिन्, 'अहिले हाम्रो मुख्य फोकस भनेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हो। सबै खाले सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न सकिदैन। त्यसकारण तत्कालै कुनकुन सेवा कहाँ कहाँबाट दिने भन्नेबारे सोच्न जरुरी छ।'
सरकार एक्लैले काम गर्दा गुणस्तरीय स्वास्थ्य सेवा पुर्यादउन नसक्ने राईको बुझाई छ। सरकारसँगै फरकफरक क्षेत्रका मानिसहरु मिलेर काम गर्दा सबै ठाउँमा सेवा पुर्या उन सकिने उनले बताइन्।
त्यस्तै डा ओझाले पनि मानसिक स्वास्थ्यको क्षेत्रमा सबै सरोकारवालाहरुले सहकार्य गर्दै, सामाजिक कुसंस्कारको विषयमा पनि पैरवी गर्नुपर्ने बताए। मानसिक स्वास्थ्यको विषयलाई कलंकित बनाउन छाडेर यो विषयमा कुरा गरिनुपर्नेमा उनको जोड थियो।
नेपालमै पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा बिहीबारबाट महिला स्वास्थ्य सम्मेलन भईरहेको छ।
महिला स्वास्थ्यको विषयमा नीति निर्माता र कार्यक्रम कार्यान्वयनकर्ताहरू बिचको साझेदारी र सहकार्यलाई सबल पार्ने र प्राथमिकतामा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरू पहिचान गरी नीति निर्माणमा पहल गर्ने सम्मेलनको मुख्य उदेश्य हो। सम्मेलनमा प्रजनन स्वास्थ्य, किशोरकिशोरीको स्वास्थ्य, पोषण, महिलाको मानसिक स्वास्थ्य लगायतका विषय प्राथमिकतामा राखिएको छ।