काठमाडौं- पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि विद्यार्थी सिट पाएका छन्।
चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको हो।
आयोगले नर्सिङ अध्यापनका लागि दुवै प्रतिष्ठानलाई बिएससी र बिएनएसका लागि २०/२० सिट निर्धारण गरेको छ । योसँगै दुवै प्रतिष्ठानमा पहिलो पटक नर्सिङ शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा विकास लामिछानेले आयोगको अनुमति पाएसँगै नर्सिङ अध्यापनको बाटो खुलेको बताए।
उनले अगामी शैक्षिक शत्रदेखि प्रतिष्ठानमा अध्यापन सुरु हुने बताए। यसका लागि प्रतिष्ठानमा सबैखाले पूर्वाधार तयार भइसकेको उनले बताए। ‘अध्यापनका लागि चाहिने कक्षा कोठा, लाइब्रेरी, अडोटोरियल रूमहरू जस्ता पूर्वाधार तयार छ,’ उपकुलपति लामिछानेले भने।
पोखराले पनि अध्यापनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको जानकारी दिएको छ।