चितवन- क्यान्सर रोगका कारण कलिलो उमेरमै निधन भएकी दन्तरोग विशेषज्ञ डा बिएम खरेल लामिछानेको स्मृतिमा क्यान्सर सचेतना सम्बन्धी लेखनवृत्ती कोष स्थापना गरिएको छ। प्रस्तावित बिएम फाउण्डेशन र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच सम्झौतामा हस्ताक्षर भएको हो।
प्रस्तावित फाउण्डेशनका तर्फबाट एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डा प्रमोद लामिछाने र महासंघका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा तत्काल ५ लाख रुपैयाँ बीउ पूँजीको अक्षयकोष निर्माण गर्ने उल्लेख छ। वार्षिक रुपमा अक्षयकोषबाट प्राप्त व्याज रकममा थप गरी प्रत्येक वर्ष १ लाख रुपैयाँको लेखनवृत्ति रकम खर्च गरिने जनाइएको छ।
सम्झौता कार्यक्रममा बोल्दै लामिछानेले अक्षयकोषमा क्रमशः रकम बृद्धि गरी रु.२० लाख पुर्याउने लक्ष्य रहेको बताए।व्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारहरुलाई क्यान्सर सचेतना सम्बन्धी लेखनवृत्ति प्रदान गरिने छ। संकलिन लेखहरुलाई समावेश गरेर प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्ने छ। अधिकांश क्यान्सर रोग समयमै पत्ता लगाएर उपचार गरे निको पार्न सकिने सचेतना फैल्याएर अरुले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि कोष स्थापना गरी पत्रकारहरुलाई प्रोत्साहन गरिएको डा प्रमोद लामिछानेले बताए।
लेखनवृत्ति सम्बन्धी कार्यविधि महासंघले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिए। महासंघले पछिल्लो समय लेखनवृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ।
स्व.लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नी सम्बन्धी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ। स्व. लामिछानेको पेट क्यान्सरका कारण तीन वर्ष अघि आजकै दिन ३७ वर्षको उमेरमा स्वर्गारोहण भएको हो।
दन्त रोग विशेषज्ञ डा खरेल अलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक समेत थिइन्। उनका श्रीमान् डा प्रमोद लामिछाने हाडजोर्न तथा नसा रोग विशेषज्ञ हुन्। डा खरेललाई २०७४ वैशाख २८ गते क्यान्सर भएको पत्ता लागेको थियो। चौथो स्टेजको क्यान्सरको उपचारका लागि खरेललाई भारत, जापान लगायतका मुलुक समेत पुर्याइएको भए पनि निको बनाउन नसकिएको हो। जापान पुगेर गरिएको उपचार र अनुसन्धानपछि डा खरेलको क्यान्सर ‘एडिनो कासिनो अफ स्टोमक पोलिडिफरेन्सियट’ भन्ने पत्ता लागेको थियो।