काठमाडौं- नेपालमा आँखा उपचारको पहुँच पुरुषको तुलनामा महिलाहरुमा कम रहेको नेत्र रोग विशेषज्ञहरुले बताएका छन्। मंगलबार तिलगंगा आँखा अस्पतालमा महिलामैत्री आँखा सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा चिकित्सकहरुले नेपालमा पुरुषको तुलनामा महिलाहरु १.३ गुणा बढी दृष्टिविहीन हुने सम्भावना रहेको बताए।
अस्पतालकी नेत्र रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार विश्वभर अन्धोपनको समस्या भएकामध्ये ५५ प्रतिशत महिलाहरु छन्। बालबालिकाहरुमा पनि बालिकाहरुमा अन्धोपनको समस्या बढी हुने र ज्येष्ठ नागरिकहरुमा पनि वृद्वाहरुमा यो समस्या बढी हुने उनले बताइन्।
आँखा सम्बन्धी स्वास्थ्य सेवा पाउनेमा पुरुषहरुको सङ्ख्या धेरै छ। स्वास्थ्य सेवा पहुँचको कमी, ग्रामिण क्षेत्रमा यातायातको पहुँच नहुनु, आर्थिक निर्भरता, निर्णय गर्न नसक्नु, घरको जिम्मेवारी बढी हुनाले महिलाहरु उपचारका लागि स्वास्थ्य संस्थामा नआइपुग्ने डा अधिकारी बताउँछिन्।
अस्पतालकी निर्देशक डा रिता गुरुङले महिलाहरुलाई आँखा उपचारको पहुँचमा ल्याउन महिलासँगै पुरुषहरुलाई पनि चेतना फैलाउनुपर्ने बताइन्। त्यस्तै, आँखा सम्बन्धी सेवा दिने अस्पतालहरु महिला मैत्री हुनुपर्ने, स्तनपान कक्षदेखि बालबालिकाको खेल्ने ठाउँ र महिलाको छुट्टै लाइनको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।
महिलाहरुमा गर्भवती हुँदा, महिनावारी सुक्ने समयमा, हर्मोनल असन्तुलन हुँदा, सौन्दर्य सामग्रीहरुको प्रयोग गर्दा आँखामा समस्या निम्तिन सक्ने चिकित्सकहरुले बताए।