काठमाडौं- वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई एक लाख रुपैयाँ सहितको रुपा चिकित्सा सेवा अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो।
संघले रुपा फाउन्डेसनसँग गरेको सम्झौता अनुसार यस वर्ष डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्ड छनोट समितिको निर्णय अनुसार डा रिजालले नेपालको चिकित्सा क्षेत्र विशेषगरी निसन्तान दम्पतिको उपचारमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
अवार्डले आफूलाई थप हौसला प्रदान गरेको डा रिजालले जानकारी दिए।
रुपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते प्रदान गरिनेछ। यस वर्ष भने संघको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्सको सुरुको दिन फागुन १८ गते उक्त अवार्ड प्रदान गरिएको छ। कन्फ्रेन्स १८, १९ र २० गतेसम्म चलेको थियो।