काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै साथ तीन वटा अंग प्रत्यारोपण गरेको छ।
केन्द्रले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट एकै साथ दुई वटा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको जानकारी दिएको छ। सडक दुर्घटनाबाट मृत्यु भएका १७ वर्षीय युवतीबाट ६९ वर्षीय पुरुषलाई कलेजो र ४७ र ३५ वर्षीय पुरुषलाई मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए।
उनले भने, ‘यही फागुन १६ गते एकै साथ तीन जना व्यक्तिमा हामी पहिलो पटक अंग प्रत्यारोपण गर्न सफल भयौँ। हाल उहाँहरु तीन जना नै स्वस्थ हुनु हुन्छ।’
नेपालमा वर्षेनी एक हजारको मस्तिष्क मृत्यु हुने गरेको डा श्रेष्ठको अनुमान छ। मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट आठ वटा अंगहरु प्रत्यारोपण गर्न मिल्ने भएपनि जनचेतनाको अभावमा यो सहज हुन नसकेको उनले बताए। प्रत्यारोपणमा आत्मनिर्भर बन्ने उद्देश्य भएपनि मस्तिष्क मृत्युपश्चात धेरैले अंग दान नगर्ने गरेको उनले बताए। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल ७ सय जना मिर्गौला र २० जना कलेजो प्रत्यारोपणका लागि पर्खिरहेका छन्।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावमा मस्तिष्क मृत्यु भएकाहरुबाट प्रत्यारोपण गर्न सकिने अंगहरु खेर गइरहेको बताए।
डा श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास, प्राडा राकेश कुमार बर्मा, प्राडा पवन चालिसे, डा दिपेन्द्र श्रेष्ठ, डा रवि किरण गौतम लगायत संलग्न थिए।
२०७४ वैशाख ८ गतेबाट मस्तिष्क मृत्यु भएकाको व्यक्तिको अंङ्गबाट प्रत्यारोपण सुरु भएको थियो। हालसम्म मस्तिष्क मृत्यु भएका पाँच जना व्यक्तिबाट १३ जनामा प्रत्यारोपण भएको छ। १० जनाको मिर्गौला र ३ जनामा मात्र कलेजो प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।