काठमाडौं– यदि कुनै कदम चालिएन भने सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्या मोटोपनको शिकार हुने एक अनुसन्धानले दर्साएको छ। वर्ल्ड ओबिसिटी फेडेरेसनले ४ अर्बभन्दा बढी जनसंख्या मोटोपनबाट प्रभावित हुने चेतावनी दिएको बीबीसीले जनाएको छ।
उक्त संगठनको एक रिपोर्टका अनुसार बालबालिकामा द्रुत गतिमा मोटोपन बढिरहेको छ। न्यून र मध्यम आय भएका अफ्रिका र एसिया जस्ता देशका मानिसमा मोटपन अत्याधिक वृद्धि हुने उक्त अनुसन्धानले देखाएको छ।
उक्त रिपोर्टले मोटोपनको उपचारका लागि खर्च नै वर्षेनि ४ ट्रिलियन अमेरिकी डलर भन्दा बढी हुने अनुमान गरेको छ।
फेडेरसनका प्रमुख लुइस बउर भन्छन्, ‘रिपोर्टले कि अहिल्यै केही गर्न सुरु गर, नभए भविष्यमा आइपर्ने जोखिमका लागि तयार भएर बस भनेको छ।’
बालबालिका र किशोर-किशोरीहरुमा मोटोपनको दर सन् २०२० भन्दा दोब्बर हुने अनुमान गरिएको छ। प्राध्यापक बउर भन्छन्, ‘सरकार र नीति निर्माताले स्वास्थ्यका विषयमा केन्द्रित हुनुपर्छ। त्यसमा पनि मोटोपनलाई लिएर बढी नै नीति निर्माण र काम हुनुपर्छ। जसले मोटोपनको जरा नै कमजोर बनाउन सकोस्।’
न्यून र मध्यम आए भएका देशहरुमा १० मध्ये ९ जनामा मोटोपन देखिने पनि उक्त रिपोर्टले प्रस्ट उल्लेख गरेको छ।