काठमाडौं- ६० प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने विज्ञ चिकित्सकहरुले बताएका छन्। विश्व श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्टले काठमाडौंमा गरेको कार्यक्रममा चिकित्सकहरुले प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने बताएका हुन्।
सोसाइटीका महासचिव एवं त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले समयमै उपचार गरे बहिरोपनको समस्याबाट बच्न सकिने बताए। विश्वमा सन् २०५० सम्म चार जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने उनले बताए। अहिले भने पाँच जनामध्ये एक जनामा बहिरोपना सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित हुने देखिएको छ।
बहिरोपनको समस्या बढ्दै गएपनि नेपालमा दक्ष जनशक्ति पर्याप्त मात्रामा नरहेको सोसाइटीले जनाएको छ। नेपालमा हाल नाक, कान, घाँटी रोग विशेषज्ञ २१५ र अडियोलोजिस्ट र स्पीच ल्याङवेज प्याथलोजिस्ट ९० जना मात्र रहेको डा न्यौपानले जानकारी दिए। बहिरोपनको समस्या न्यूनीकरण गर्न सरकारले दक्ष जनशक्ति बढाउनुपर्ने, तालिम दिनुपर्ने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।
सोसाइटीका अध्यक्ष डा दीपेन्द्र श्रेष्ठले कान स्वास्थ्यलाई सरकारले आफ्नो प्राथमिकतामा नराखेको बताए। बहिरोपनको समस्या न्यूनीकरणका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए।
कक्लेन्ट इम्प्लान्ट नेपालका डा रविन्द्र प्रधानाङ्गले कक्लेन्ट सेवा सर्वसुलभ बनाउनुपर्ने बताए। यो सेवा विस्तारका लागि सरकारलाई सहयोग गर्न आफुहरु तयार भएको उनले बताए।