काठमाडौं- प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन्। प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकी छिन्। उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन्। प्रदेश १ ले 'कोशी' नाम पाएको छ।
प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्यमन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन्। पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ।
‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन। एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु।’
अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भन्ने अठोट व्यक्त गर्दै उनले खोला, नाला र पहाडलाई पहिचान नचाहिएको बताइन्। ‘यो त मानव समुदायलाई चाहिएको थियो। तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो,’ उनले भनिन्।
संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानि यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उनले बताइन् । ‘प्रदेशको नामाकरणमा पुनःविचार गरियोस्,’ उनले भनिन्।
प्रदेश सभाको पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको औपचारिक सुरूआत भएको ६२ औं दिनमा प्रदेश १ ले 'कोशी' नाम पाएको छ।
प्रदेश सभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ ख १ बमोजिम प्रस्ताव आह्वान गरेको थियो।
सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो। सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको घोषणा गरेका छन्। विपक्षमा भने जम्मा ४ मत परेको थियो। विपक्षमा नेकपा एकीकृत समाजवादीका चार जनाले मतदान गरेका हुन्। ९३ सदस्यीय प्रदेश सभामा बुधबार मतदानका बेला ८७ जना सांसद उपस्थित थिए।