काठमाडौं- नेपाल प्रजातान्त्रिक फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको दरबन्दी अनुसार फार्मासिस्ट राख्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
सरकारी तथा निजी अस्पतालहरुले मन्त्रालयले तोकेको कार्य विवरण अनुसार नभई मनोमानी ढंगले फर्मासिस्ट राखेको भन्दै संघले उक्त आग्रह गरेको हो। संघले प्रेस विज्ञप्ति जारी गरी अझै पनि कतिपय अस्पतालहरुमा दक्ष जनशक्ति नभई गैर फर्मासिस्ट राख्ने गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायहरुमा तोकिएको फार्मेसी जनशक्तिको सन्दर्भमा देशका विभिन्न कार्यालयहरुमा मनोमानी ढंगले मन्त्रालयले तोकेको कार्य विवरण अनुरुप कार्य नभएको भनी जानकारी प्राप्त भएको छ।’
औषधि जस्तो संवेदनशील विषयमा मनोमानी ढंगले गैर फर्मासिस्ट राख्दा स्वास्थ्य सेवामा समस्या आउन सक्ने संघका सुदिप राज सुवेदीले बताए। मन्त्रालयले दरबन्दी तोके पनि अस्पतालहरुमा फार्मेसी अध्ययन नगरेका व्यक्तिहरु नै फार्मेसी इन्चार्ज हुने गरेको उनले बताए।
कुनै पनि अस्पतालमा गैर फर्मासिस्ट रहेको जानकारी प्राप्त भए आफूहरुलाई सूचना दिन पनि संघले सबैमा आग्रह गरेको छ।
औषधि ऐन २०३५, औषधि बिक्रि वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य २०१७ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ ले अस्पतालमा औषधिको अनुमान, खरिद र वितरण प्रक्रियामा दक्ष फर्मासिस्ट जनशक्तिको अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।