काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कर्मचारीको जिम्मेवारी हेरफेर आफ्नो प्राथमिकतामा नरहेको बताएका छन्। स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहदाँसम्म बिनाकारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका हुन्।
उनले भने, 'कर्मचारी सरूवा र जिम्मेवारी हेरफेर मेरो मुख्य प्राथमिकतामा छैन। कर्मचारीरीहरूलाई चेसको गोटीजस्तो कहिले यता कहिले उता पुर्याउनु छैन।'
मन्त्री गिरीले स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक नदिने र श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई कठोर सजाय दिने प्रतिबद्धता व्यक्त गरेका छन्। योसँगै उनले स्वास्थ्य सेवा ऐनलाई छुट्टै नै राख्न पहल गर्ने बताएका छन्।
यसैगरी, स्वास्थ्य सचिव डा रोशन पोखरेलले समायोजनले निम्त्याएका स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि आफूहरू गम्भीर रहेको बताएका छन्। गुणस्तरीय र सर्भसुलभ स्वास्थ्य सेवाका लागि आफुहरू प्रयासरत भएको बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले स्वास्थ्य क्षेत्रका सूचकहरूमा उल्लेखनीय सुधार गर्न सबैको साथको आवश्यक रहेको बताएका छन्। यसैगरी, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वल शर्माले स्वास्थ्य सेवा ऐनलाइ संघिय निजामती ऐनमा कुनै पनि हालतमा गाभ्न नहुने बताएका छन्।
निजामतीको ४० प्रतिशत कर्मचारी स्वास्थ्य क्षेत्रकै रहेकाले स्वास्थ्यकर्मीको लागि छुट्टै ऐन नै आवश्यक रहेकोमा उनको जोड छ। बिना तयारी र गृहकार्य बिना स्वास्थ्यसेवालाई स्थानीय तहमा पठाउँदा स्वास्थ्य सेवा धरापमा परेको उनले बताए।
'दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा' भन्ने मूल नाराको साथ सोमबार देशैभरी स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वस्थ्य सेवा ऐन २०५३ फाल्गुन १५ गते आएको उपलक्ष्यमा यो दिवस मनाइन्छ।