काठमाडौं– कीर्ते मार्कसिट बनाएर एमबिबिएस अध्ययन गरी पास गरेको पाइएको भन्दै थप दुई जना डाक्टरविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार दुई डाक्टरविरुद्ध मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएका डाक्टरहरुमा सप्तरीको जोगिनिया–७ का २८ वर्षीय सुमित कुमार बनबरिया र सर्लाहीको बरहथवा नगरपालिका–५ का ३१ वर्षीय संजिव कुमार सिंह छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको फाइल अध्ययन पश्चात काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
उनीहरुले एसएलसी तथा प्लसटुको मार्कसिट कीर्ते गरेको आरोप लागेको छ। उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययनका लागि योग्य बनाउन ती डकुमेन्टहरु कीर्ते गरेर पेश गरेको सीआइबीको निष्कर्ष छ।
नेपाल मेडिकल काउन्सिलको इलिजिबिटी कमिटिका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको समयमा बंगलादेशमा अध्ययन गर्नका लागि चाहिने न्युनतम अंकहरु नपुग भएकाले उनीहरुले एसएलसीको मार्कसिट नै कीर्ते गरेर पेश गरेको बताइएको छ।
मार्कसिटमा, जन्म मिति, प्राप्तांक नम्बरलगायतका विवरणहरु थप गरी सच्याइएको अनुसन्धानबाट खुलेको भन्दै मुद्दा दर्ता गरिएको हो। बनबरिया र सिंहले मार्कसिट कीर्ते गरेको भन्ने उजुरीपछि अनुसन्धान गर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा पत्रचार गर्दा ती मार्कसिटीहरु भेरिफाइ नभएको पाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयको पत्रमा सञ्जिवकुमार सिंह नामको एसएलसीको मार्कसिट र यस कार्यालयमा अभिलेख रहेको विवरण अनुसार सिंहको नाममा २०६४ सालमा सिम्बोल नम्बर ०२२०९१२ पी भिडाउँदा मेल नखाएको उल्लेख गरिएको छ।
त्यसैगरी बनबरियाले समेत मार्कसिटी नै कीर्ते गरेको उल्लेख गरिएको छ। बनबरियाको मार्कसिट भेरिफाइडका लागि राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गर्दा नट भेरिफाइड भन्ने जवाफ आएकाले उनले समेत कीर्ते गरेको बताइएको छ। उनले पनि कीर्ते मार्कसिट बनाएर बंगलादेशमा गएर एमबिबिएस अध्ययन गरेको पाइएको छ।
उनीहरु दुबै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। उनीहरु दुबै जनालाई मुलुकी अपराध फौजदारी संहिता २०७४ को दफा २७६ को उपदफा (३) को (ग) बमोजिम सजाय हुनुपर्ने मागदाबी गरिएको छ। उक्त कसुर अन्तर्गत ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रवधान छ।
दुबै जना फरार रहेकाले यी दुबै जनाविरुद्ध पक्राउ पूर्जी जारी हुनुपर्ने माग समेत गरिएको छ।
यसअघि पनि प्रहरले दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।