काठमाडौं- त्रिशुली अस्पतालमा फागुन ८ गते शल्यक्रियाबाट सुत्केरी गराइएकी २४ वर्षीया सरिता न्यौपानेको फागुन १० गते उपचारका क्रममा काठमाडौं मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको विषयमा त्रिशुली अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका विषयमा आधिकारिक विवरण सार्वजनिक गरेको हो।
अस्पतालमा सोमबार सुत्केरी भएकी न्यौपानेको स्वास्थ्य गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। न्यौपानेको उपचारका क्रममा बुधबार मृत्युभएपछि आफन्तले त्रिशुली अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै छानबिनको गर्दै दोषि माथि कारबाहीको माग गर्दै आएका छन्।
आफन्तको माग अनुसार बिहीबार साँझ भएको छलफलपछि उक्त घटनाको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने लगायतका ६ बुँदे सहमति भएको छ। उक्त सहमतिमा मृतक न्यौपानेको नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ १३ दिनभित्र उपलब्ध गराइने उल्लेख छ। तर कतिपयले सामाजिक सञ्जालमा अस्पताललाई दोषि आरोप लगाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति वापत दिइएको भनी प्रचार प्रसार गरेको भन्दै अस्पतालले त्यस विषयमा प्रष्ट पारेको छ।
अस्पतालले उक्त रकम क्षतिपुर्ति स्वरुप नभई नवजात शिशुको पालनपोषणको लागि मृतकको सम्बन्धित पालिकाको सहयोगमा दिइने खर्च रहेको जानकारी दिएको छ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा त्रिशुली अस्पतालमा आमाको गर्भभित्र बच्चा खेल्ने पानी (एम्नियोटिक फ्लुड) धेरै नै कम भएको र बच्चाको धड्कनमा समेत उत्तार चढाव आएको हुँदा सम्बन्धित चिकित्सकले जाँच गरी बच्चालाई हुन सक्ने जोखिमको बारेमा आफन्तलाई जानकारी गराई काठमाडौं लैजान सल्लाह दिएको उल्लेख छ। उक्त सल्लाहपछि जोखिमको जिम्मेवारी स्वयम् लिने भनी श्रीमानले शल्यक्रिया गर्न सहमति पत्रमा हस्ताक्षर गरे पश्चात शल्यक्रिया गरिएको र शल्यक्रिया पश्चात करिब ८ घण्टासम्म आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
'त्यसपछि क्रमश: श्वास-प्रश्वासमा जटिलता हुँदै आक्सिजनको मात्रा कम देखिएपछि विरामीलाई आइसीयूमा स्थानान्तरण गरियो। साथै बिरामीको आफन्तलाई विरामीको श्वास- प्रश्वासमा जटिलता हुदै गएपछि EmLSCS for severe Oligohydramnios with sepsis with AKI with Bilateral pneumonia (D/D DIC) निदान गरी तत्काल काठमाडौं लैजानु पर्ने सल्लाह दिइयो। बिरामीलाई बाटो अवधिभर सहज बनाउनको लागि आकस्मिक उपचार आइसीयूमा गरियो र थप उपचारको लागि २०७९/११/०९ गते ९:०० बजे विहान काठमाडौं रिफर गरियो,' अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ अस्पतालको विज्ञप्ति
यस अस्पतालमा मिति २०७२/११/०८ गते आकस्मिक शल्यकृयाबाट सुत्केरी गराईएको सरिता न्यौपानेको मिति २०७९/११/१० गते काठमाडौंको मनमोहन मेमोरीयल अस्पतालमा मृत्यु भएको दुःखद घटना प्रति अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनामा दिवंगत हुनु भएका स्व. सरिता न्यौपानेको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना सहित नवजात शिशुको शिघ्र स्वास्थ्य लाभको कामना गरिन्छ ।
मिति २०७९/११/०८ गतेका दिन त्रिशुली अस्पतालमा आमाको गर्भभित्र बच्चा खेल्ने पानी ( Amniotic Fluid) धेरै नै कम भएको र बच्चाको धड्कनमा समेत उत्तार चढाव आएको (38+WOG with Severe Oligohydramnios with fetal distress-abnormal CTG) हुँदा सम्बन्धित चिकित्सकले जाँच गरि बच्चालाई हुन सक्ने जोखिमको बारेमा जानकारी गराई काठमाडौं लैजान सल्लाह दिँदा समेत जोखिमको जिम्मेवारी स्वयम् लिने भनी श्रीमानले शल्यक्रिया गर्न सहमति पत्रमा (Written Consent ) हस्ताक्षर गरे पश्चात शल्यकृया गरिएको र शल्यकृया पश्चात करिब ८ घण्टासम्म आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र त्यसपछि क्रमश श्वास-प्रश्वासमा जटिलता हुँदै आक्सिजनको मात्रा कम देखिएपछि विरामीलाई (आई.सि.यु.) ICU मा स्थानान्तरण गरियो । साथै विरामीको आफन्तलाई विरामीको श्वास- प्रश्वासमा जटिलता हुदै गएपछि EmLSCS for severe Oligohydramnios with sepsis with AKI with Bilateral pneumonia (D/D DIC) निदान गरी तत्काल काठमाडौं लैजानु पर्ने सल्लाह दिईयो । विरामीलाई बाटो अवधिभर सहज बनाउनको लागि आकस्मिक उपचार ICU मा गरियो र थप उपचारको लागि २०७९/११/०९ गते ९:०० बजे विहान काठमाडौं रिफर गरियो । सो पश्चात मिति २०७९/११/१० गते काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा विरामीको मृत्यु भएको खबर जानकारी प्राप्त भयो ।
मिति २०७९ / ११ / ११ गतेका दिन नुवाकोट जिल्ला प्रशासन कार्यालयमा भएको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पिडित पक्ष सहित सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलबाट निर्णय भए बमोजिम उच्च स्तरिय विज्ञ सहितको छानविन समितिको गठन भएको र उक्त छानविन समितिले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहरिएमा जो कोहिलाई पनि कानुन अनुसार कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासन प्रतिवद्ध छ । साथै विभिन्न सामाजिक सञ्जालमा अस्पताललाई दोषि आरोप लगाई रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख रुपैया) क्षतिपुर्ति वापत दिईएको भनी प्रचार प्रसार भएको सन्दर्भमा सो रकम क्षतिपुर्ति स्वरुप नभई नवजात शिशुको पालनपोषणको लागि मृतकको सम्बन्धित पालिकाको सहयोगमा दिईने खर्च रहेको समेत जानकारी गराईन्छ ।
डा. दिपेन्द्र पाण्डे
मेडिकल सुपरिन्टेन्डेण्ट
त्रिशुली अस्पताल