काठमाडौं- स्वास्थ्य चौकीको पर्खाल बनाएको भन्दै नक्कली बिलभरपाई बनाएर भुक्तानी लिएको पाइएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित स्वास्थ्य चौकीमा ग्याबिन पर्खाल निर्माण गरेको नक्कली बिलभरपाई बनाएर भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ग्याबिन पर्खाल निर्माण नगरेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम भुक्तानी लिने दिने कार्य भएको बताइएको छ।
उक्त मुद्दमा छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर पदमबहादुर बुढा र सव-ओभरसियर (करार) गडबहादुर बुढालाई भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
यसैगरी छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नम्बर वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपाली समेत मुछिएका छन्। उनीहरुले हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन पेस गरेको पाइएको छ।
वडा नम्बर ११ का तत्कालीन वडा अध्यक्ष दानबहादुर बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने काम गरेको, उपभोक्ता समितिका अध्यक्ष जीवनबहादुर बुढा, सचिव केशबहादुर बुढा र कोषाध्यक्ष सृजना बडुवालले स्वास्थ्य चौकी ग्याबिन पर्खाल निर्माण कार्य गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिने र दिने काम गरेको अख्तियारको आरोप छ।