काठमाडौं- त्रिशुली अस्पताल र सुत्केरीपछि मृत्यु भएकी २४ वर्षीया सरिता न्यौपानेको आफन्तबीच सहमति भएको छ। अस्पतालमा सोमबार सुत्केरी भएकी न्यौपानेको स्वास्थ्य गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो।
न्यौपानेको उपचारका क्रममा बुधबार मृत्युभएपछि आफन्तले त्रिशुली अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै छानबिनको गर्दै दोषि माथि कारबाहीको माग गर्दै आएका छन्। आफन्तको माग अनुसार बिहीबार साँझ भएको छलफलपछि उक्त घटनाको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने लगायतका ६ बुँदे सहमति भएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, त्रिशुली अस्पतालका व्वस्थापन समितिका अध्यक्ष राजु पण्डित, मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डे र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको हो।
सहमति अनुसार मृतक न्यौपानेको नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ १३ दिनभित्र उपलब्ध गराइने उल्लेख छ। 'उक्त घटनामा आमा गुमाएका नवजात शिशुको पालन पोषणको लागि त्रिशुली अस्पतालले विदुर नगरपालिका समेतको सहयोगमा रु. पाँच लाख १३ दिनभित्र उपलब्ध गराउने,' सहमतिपछि भएको ६ बुँदे निर्णयमा उल्लेख छ।
घटनाको छानबिन गर्न तथा अस्पतालको आन्तरिक व्यवस्थापन सुधार गर्नका लागि रायसहित प्रतिवेदन बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय पनि भएको सहमति पत्रमा उल्लेख छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
नवजात शिशुको त्रिशुली अस्पतालमा स्वास्थ्य उपचार र नगरपालिकाले शिक्षा निःशुल्क गर्ने निर्णय पनि भएको सहमति पत्रमा उल्लेख छ।
चिकित्सकले गर्भवती सरिता न्यौपाने शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्भीर भइसक्दा पनि रेफरमा ढिलाइ गरेको आफन्तले आरोप लगाएका थिए। चिकित्सकले बच्चाको मुटुको धड्कन कम भएको र गर्भवतीको पेटमा पानीको मात्रा कम रहेकाले नर्मल डेलिभरी हुन नसक्ने भन्दै शल्यक्रिया गरेको जानकारी दिएका छन्।
हेरौं सहमति पत्र