जुम्ला- दैलेखको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ। चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।
सम्झौतामा राकमकर्णालीमा एक सय सय्याको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए। अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ।
शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भईसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए। अस्पताल निर्माणको लागि डिपिआर बनिसकेको छ। अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भईसकेको छ।
नगरपालिकाले राकमकर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ। विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ। अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्याबसहित अस्पताल फार्मेसी चलाइरहेको छ। विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताए।
प्रतिष्ठानले राकमकर्णालीको आधारभुत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभुत अस्पताललाई उपलब्ध गराएको हो। अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतिय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए।
हालै जडान भएको अक्सिजन प्लान्ट सोमवार उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललगायतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो। अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए। राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहले बताए।
पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने बताइन्। उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृश्य वा अदृश्य रुपमा निरन्तर उठाउने बताइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए। डा. रावलले आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याईने दाबी गरेका छन्।