पर्वत- पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ। वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो।
अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा रोकिएको थियो।
शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको शल्यक्रिया गरी बच्चा निकालेको अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिइन्।
अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी नर्स तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द भएकामा चिकित्सकको उपस्थितिसँगै फागुन ५ गते साँझ विहादी गाउँपालिका–४ निवासी बबिता भट्टराईको शल्यक्रिया गरिएको थियो।
यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो।
अस्पतालमा अहिले डा. हेमन्त बाँस्तोला र डा.मनिष सिंहको प्रत्यक्ष निगरानीमा जटिल प्रकृतिका गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माउने कार्य भइरहेको छ।
साथै हर्निया, हाइड्रोसिल, एपेन्डिक्सलगायत बिरामीले पनि शल्यक्रिया सेवा पाएका छन्। जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालमा वैकल्पिक जनशक्ति नहुँदा बेला बेलामा सेवा अवरुद्ध हुने गरेको छ।
जिल्लाका सातवटै पालिकाका साथै छिमेकी बागलुङको दक्षिण क्षेत्र र पर्वतसँग सिमाना जोडिएका कास्की र स्याङजाका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन्। रासस