काठमाडौं- राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष स्वास्थ्यखबरकर्मी कमला गुरुङ छनोट भएकी छिन्।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि परेका आवेदकमध्येबाट स्वास्थ्य खबरपत्रिकाकी वरिष्ठ संवाददाता गुरुङ छनोट भएकी हुन्।
पुरस्कार वितरण कार्यक्रम यही फागुन ९ गते मंगलबार बिहान ११ बजे कावासोती २ स्थित नवदुर्गा सामुदायिक वनको कार्यालय परिसरमा हुनेछ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए।
फाउण्डेसनले स्व. राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ। २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो।
एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्। समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ–गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन्। राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन्।