पर्वत- लामो समयको अन्तरालपछि पर्वत जिल्लाको फलेवास नगरपालिका–५ अन्तर्गत धुलिखेल हस्पिटल फलेवास हेल्थ सेन्टरको प्राङ्गणमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।
उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यो शिविरको आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिए।
फाल्गुण १३ र १४ गते आयोजना हुने उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा परीक्षण तथा उपचार हुनेछ। जसमा पेट, छाती, मुटु, मधुमेह जस्ता रोगका लागि इन्टरनल मेडिसिन विशेषज्ञ सेवा, महिलाहरुको लागि प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, हड्डी खिईएको तथा ढाड दुखाई भएकाहरुको लागि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा,दाँतको समस्या भएकाहरुको लागि दन्त रोग विशेषज्ञ सेवा, र आँखाको समस्या भएकाहरुको लागि आखाँ जाँच गरि निशुल्क चस्मा समेत उपलब्ध गराईनेछ।