काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा शुक्रबार डा सन्तोष पौडेल नियुक्त भए। स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेल उक्त जिम्मेवारी दिएका हुन्।
यसअघि वीर अस्पतालको निमित्त कार्यकारी अधिकारीका रुपमा डा भुपेन्द्र बस्नेत थिए। उक्त पदबाट बाहिरिएपछि डा बस्नेतले आफ्नो डेढ वर्षको कार्यकालमा गरेका कामहरु सार्वजनिक गरेका छन्।
सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएको, नयाँ आइसीयू थप गरिएको, अस्पताल भित्र चार वटा फार्मेसी सेवा विस्तार गरेको लगायत कामहरु उनले सार्वजनिक गरेका छन्। आफ्नो कार्यकालमा डा बस्नेतले गरेका मुख्य रुपमा १८ वटा कामहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ :
१. सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्यायौँ – जनरल वार्ड , ओ.टी. पोस्ट अपरेटिभ ,आइसीयू, ब्लड बंैक , रेडियोलोजी सेवा, सिमुलेसन ल्याब, ओ.टी तथा जनरल फार्मेसी सेवा।
२. आठ वटा अल्ट्रासाउन्ड मेसिनबाट हरेक दिन सेवा दिएर बिरामीलाई पालो कुर्नुपर्ने अवस्थाको अन्त्य।
३. सर्जिकल भवनमा नयाँ आइसीयू थप गरी बिरामीलाई आइसीयू नपाउने अवस्थाको अन्त्य।
४. अस्पताल भित्र चार वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार।
५. दात विभागमा २० वटा डेन्टल चेयर थप गरेर सेवा विस्तार।
६. क्याथ ल्याब सेवा सञ्चालन।
७. ब्रोनोस्कोपी एण्ड स्लीप ल्याब सुरु।
८. सर्जिकल विभागका धेरै सेवाहरुको हरेक दिन ओपिडी र ओटीको व्यवस्था गरिएको। जसले गर्दा बिरामीलाई पालो कुर्ने समय छोटो गर्ने कोशिस गरिएको।
९. डायलाइसिस सेवा विस्तार।
१०.ओपन हार्ट अप्रेसन सुरु।
११. मिर्गौला प्रत्यारोपणलाई पुनः निरन्तरता दिएको।
१२. फाइब्रोस्क्यान सेवा पुनः सञ्चालनमा ल्याएको।
१३. आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपिडी सञ्चालनमा ल्याएको।
१४. दुवाकोटमा एक्सरे र ल्याब सहितको ओपिडी सेवा सञ्चालनमा ल्याएको।
१५. अस्पतालमा डिजिटल पे क्युआर कोड सेवा सुरु गरिएको।
१६. बिरामीहरुको सहज सेवाको लागि एमआरआई सेवा बिहान ८ बजेदेखि राति १० बजेसम्म सुरु गरिएको।
१७. इमरजेन्सीलाई एक सय शय्या बनाउने काम प्रक्रियामा लगिएको।
१८. पुरानो भवनको ठाउँमा नयाँ पाँच सय शय्याको मेडिकल भवन बनाउने प्रारम्भिक ड्रोइङ र डिजाइन गरी स्वास्थ्य मन्त्रालयमा बुझाइएको।