काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सुझाव मागेका छन्। मन्त्री गिरीले शुक्रबार पूर्व स्वास्थ्यमन्त्री थापालाई स्वास्थ्य मन्त्रालयमा बोलाएर आफ्ना अनुभव र सुझाव माग गरेका हुन्।
'स्वास्थ्यमा म काम गर्न चाहन्छु। हजुरको अनुभवका आधारमा मलाई सुझाव दिनुहोस्' मन्त्री गिरीले थापासँग भनेको कुरा उदृत गर्दै मन्त्री गिरीका सचिवालयका एक सदस्यले भने, 'तपाईंको पालमा राम्रो र उल्लेख्य काम भएको सुनेको छु। म पनि यहाँ काम गर्न आएको हुँ। अनुभव कस्तो रह्यो? सुझावहरु पनि दिनुहोला।'
मन्त्री गिरीले अनुभवसँगै सुझाव माग गरेपछि थापाले आफ्ना कार्यकालमा भएका काम, गरिएका प्रयास र सो क्रममा भोगेका अनुभव सुनाएका थिए।
पूर्व स्वास्थ्य मन्त्री थापाले मन्त्री गिरीलाई स्वास्थ्य सेवाको विकास र विस्तारका लागि आफ्नो पालमा बनेको सात वर्षे पूर्वाधार मापदण्ड, स्वास्थ्य बिमा, जनशक्तिको उत्पादनसँगै व्यवस्थापन, औषधिका क्षेत्रमा गर्नुपर्ने काम लगायतका विषयमा सुझावहरु दिएको ती कर्मचारीले जानकारी दिए।
'स्वास्थ्य क्षेत्रको विकास र विस्तारसँग सम्बन्धीत विषयमा नै गगन थापाले सुझाव दिनुका साथै आफ्ना पालमा भोगेका अनुभवहरु सुनाउनु भयो' ती कर्मचारीले भने, 'उहाँ (थापा)ले स्वास्थ्य बिमा, स्वास्थ्यको जनशक्ति, औषधि र अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्वाधारका विषयमा नै बढी जोड दिनुभयो।'
मन्त्री गिरीसँगको छलफलमा पूर्व स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेल पनि सहभागी थिए।