काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए)ले जनस्वास्थ्यमाथि खेलवाड गर्न खाजेको औषधि सम्बद्ध विभिन्न संस्थाहरुले आरोप लगाएका छन्। उनीहरुले आफ्नो संस्थासँग पूर्वस्वीकृति नलिइ बजार प्रवेश गर्न नदिने, उद्योग बजारबाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने जस्ता कार्य गरिरहेको भन्दै औषधि सम्बद्ध संस्थाहरुसहित चिकित्सक र अस्पताल सम्बद्ध संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल मेडिकल एसोसियसन, नेपाल औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपुर्ति संघ, नेपाल औषधि बिक्रि प्रबन्धक संगठन, एसोसीयसन अफ प्राईभेट हेल्थ ईन्सिटच्युसन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्य कानुनविपरित भएको बताएका हुन्।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) नामक संस्थाका केहि सदस्यहरुले औषधि उद्योगीहरु र उद्योगमा कार्यरत व्यवस्थापकहरुलाई उक्त संस्थाको पूर्व स्वीकृती नलिई बजार प्रवेश गर्न नदिएको उनीहरुको भनाई छ।
‘औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलबाड हो। नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा विभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल, समूह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा ब्यबस्थापक, निर्देशक लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानून बिपरित रहेको छ। नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरि आफ्नो ब्यापार व्यवसाय संचालन गर्ने हक हनन हुने क्रियाकलाप प्रति हामी गम्भीर रहेका छौ। यस विषयमा हामी स्वास्थ्य सम्बद्ध संस्थाहरु ऐक्यबद्धता जनाउँदै यस्ता प्रकारका गैह्रकानुनी कार्य कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरुलाई यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।