काठमाडौँ- सिलीन्डर विस्फोट भएर आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ।
सांसद भण्डारीको अवस्था स्थिर रहेको र आईसियुमा राखेर उपचार जारी रहेको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् l
सांसद भण्डारीका पारामिटरहरू सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्ने निर्णय भएको नेता कँडेलले बताए। भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको उनले बताए।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए। उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।