काठमाडौं– जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ। भण्डारीसँगै नेपालबाट गएका चिकित्सकसहितको टोली नेपाल फर्किएका छन्।
'उहाँ (भण्डारी)लाई अस्पतालमा राम्रोसँग ह्यान्डओभर गरेर फर्किएका हौं,' टोलीमा रहेका एक सदस्यले भने, 'उहाँको स्वास्थ्यमा सुधार आउने र छिटै नेपाल फर्किनुहुन्छ।'
सांसद भण्डारीलाई बिहीबार दिउसो थप उपचारका लागि श्री एयरको विमानमार्फत् भारत पठाइएको हो।
भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका प्रमुख डा प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा वृहस्पति केसी, फ्लाइट डाक्टर डा रोशन शर्मा र पारामेडिक्स तर्फ दिनेश राई, सागर महर्जन र राज तामाङ पनि सँगै गएका थिए।
खाना पकाउने ग्यास विस्फोटमा घाइते भएका उनलाई कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्शअनुसार भारत लगिएको हो।
सोही घटनामा परी गम्भीर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरमा निधन भएको थियो।
सांसद भण्डारीको करिब ३० प्रतिशत शरीरको भाग जलेको चिकित्सकहरुले बताएका छन्।