काठमाडौं- बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ।
भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको छ।
कीर्तिपुर बर्न अस्पतालकी निर्देशक डा निजिना ताम्राकारका अनुसार भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकसहितको टोली पनि सँगै जाँदै छ।
उनीसँग जाने टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्। नर्भिक अस्पतालका क्रिटिकल केयरका प्रमुख डा प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा वृहस्पति, फ्लाइट डाक्टर डा रोशन शर्मा र पारामेडिक्स तर्फ दिनेश राई, सागर महर्जन र राज तामाङ पनि सँगै जाने छन्।
भण्डारीको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो। हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको थियो।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।