काठमाडौं- चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ।
विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन्। यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन्।
यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडका कारण ज्यान गुमाएको बताएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो।
जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन्। गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् ।