काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार प्रधानमन्त्री नियुक्त गरीन्।
प्रचण्डले सोमबार अपराहन्न ४ बजे शपथ लिँदैछन्। उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन्।
प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन्।
नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय दाबी गरेको छ।
'टुङगो लागिसकेको छैन तर राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालयमा दाबी गरेको छ', श्रोतले भन्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उक्त पार्टीमा डा तोसिमा कार्की ललितपुर ३ बाट सांसद चुनिएकी छन्।
सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी छ।