काठमाडौं- नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने क्रम बढेको छ।प्रजातान्त्रिक समूहबाट प्रदेश नं १ को उपाध्यक्षमा उम्मेद्धारी दिएका डा विपेश आचार्य पनि निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश १ को उपाध्यक्षका लागि प्रगतिशील समूहबाट उम्मेदवारी दिएका डा यज्ञराज खरेलको उम्मेद्धारी निर्वाचन समितिले बदर गरिदिएपछि डा आचार्य निर्विरोध भएका हुन्। उम्मेद्धारी दर्ता गराउँदा डा खरेलले बुझाएको कागजातहरु आवश्यकता अनुसार नभएको देखिएपछि उम्मेद्धारी खारेज गरेको निर्वाचन समितिले जनाएको छ।
डा खरेलले ह्वाट्स एपबाट पठाएको आवेदनहरुमा हस्ताक्षर नभएको तथा हुुनुपर्ने केही कागजात नमिलेकोले उम्मेद्धारको सूचीबाट हटाइएको समितिले जनाएको छ।
डा आचार्यसँगै संघको कार्यसमितिमा निर्विरोध निर्वाचित हुनेको संख्या ७ पुगेको छ।
यसअघि प्रजातान्त्रिक समूहबाट उम्मेद्धार बनेका वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्ष डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्ष डा केशरबहादुर ढकाल, कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिव डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।
यसैबीचऽ निर्वाचन समितिले सुदूरपश्चिमबाट उपाध्यक्षमा उम्मेद्धारी दिएका डा प्रविणकुमार गिरीको उम्मेद्धारी पनि बदर गरेको छ। कर्णालीमा काम गर्ने गिरीले सुदूरपश्चिममा उम्मेद्धारी दिन नमिल्ने भन्दै समितिले उनको उम्मेद्धारी खारेजी गरिदिएको हो।
सुदूरपश्चिम उपाध्यक्षमा प्रजातान्त्रिक समूहका डा प्रशान्त भट्ट र प्रगतिशील समूहबाट डा निरज अर्याल उम्मेदवार छन्।