काठमाडौं- नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ।
डा महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा जोशी मात्र उम्मेदवार भएका छन्। उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन्।
संघको पदाधिकारीमा उम्मेदवार हुनका लागि सदस्य लिएको सात वर्ष पुगेको हुनुपर्छ। महर्जनले सदस्य लिएको अवधि सात वर्ष पुग्न १६ दिन बाँकी नै रहेकाले उम्मेदवारी रद्द भएको हो।
यसअघि प्रजातान्त्रिक प्यानलकै पाँच जना निर्विरोध भएका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ।