काठमाडौं– उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्किँदैछन्।
स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन्। पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ।
चुनावी धपेडीका कारण जण्डिशको लक्षण बढेपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो। पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन्।
नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको उनले बताइन्।
उपचारमा जानुअघि पुनको शरीरमा बिलरुबिनको मात्रा २७ बिन्दु थियो। हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।
यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो। पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।
चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताए पनि अत्यधिक राजनीतिक सक्रियताका कारण पुनलाई समयसमयमा रोगले सताउने गरेको छ।