काठमाडौं- नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्षमा दुईजना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुने भएका छन्।
वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल र सह-कोषाध्यक्षमा डा विक्रान्त ढकालको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। मनोनयनको लागि निर्धारित समयमा उक्त पदमा एकल अम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। यद्यपी निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी छ।
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ताको लागि समय तोकिएको थियो। जस अन्तरगत अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। डा पौडेलले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।
संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ।