काठमाडौं- गत मंसिर २१ गते निधन भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत रेजिडेन्ट डा किरण श्रेष्ठको सम्झनामा देशभरका आवासीय चिकित्सकले दीप प्रज्वलन गर्ने भएका छन्।
डा श्रेष्ठको निधन भएको १३औं दिनको सम्झनामा देशभर १७ स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सोमबार दीप प्रज्वलन गर्ने भएका हुन्।
रातभर शल्यक्रियामा संलग्न रहेका डा श्रेष्ठ २१ गते बिहान ६ बजे शारीरिक अस्वस्थताका कारण आराम गर्न कोठामा गएका थिए। कोठामा पुग्ने वित्तिकै बेहोस् भएका उनलाई अचेत अवस्थामा प्रतिष्ठानकै आकस्मिक ल्याइयो।बिहान १० बजे आइसियूमा उनलाई मृत घोषित गरियो।
आवासीय चिकित्सकहरुले ड्युटीमै रहेको अवस्थामा मृत्यु भएका डा श्रेष्ठको नाममा प्रतिष्ठानको पुस्तकालय हुनुपर्ने र उनको परिवारलाई राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सरहको सुविधा दिनुपर्ने मुख्य २ माग राखेका छन्।
यस्तै देशभरिकै विभिन्न प्रतिष्ठान, मेडिकल कलेज तथा अस्पतालमा कार्यरत तथा अध्ययनरत आवासीय चिकित्सकहरुको ड्युटी आवर र कार्यभारको विषयमा अध्ययन गरी आवासीय चिकित्सकको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोग लगायतका निकायमार्फत वैज्ञानिक तरिकाले ड्युटी आवर निर्धारण गर्नुपर्ने माग गरेका छन्। यस्तै आवासीय चिकित्सकलाई अस्पताल भित्रै आधारभूत व्यवस्था सहितको आवासको अनिवार्य व्यवस्था हुनुपर्ने र सो सुविधा नभएका अस्पतालहरुमा रेजिडेन्टीको कार्यक्रमको स्वीकृती नै खारेज गर्नुपर्ने माग आवासीय चिकित्सकहरुको छ।