विराटनगर- विराटनगर महानगरपालिका–१६ रानीस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो।
प्रहरी कार्यालयको हाताभित्र सञ्चालित शिविरमा नोबेल अस्पतालका नाक, कान, घाँटी, आँखा, दाँत, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री रोग र फोक्सो रोगका विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।
शिविरमा २ सय ८५ जना पुरुष, ७६ जना महिला र १० जना बालबालिका गरी जम्मा ३ सय ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए। जसमध्ये ९७ जनाको रक्त परीक्षण, ७५ जनाको इसीजी र १ सय २ जनाको भिडियो एक्सरे गरिएको छ।
शिविरमा पूर्वप्रहरी, अमर तथा अशक्त प्रहरीका छोराछोरी, प्रहरी कर्मचारी र उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा स्वास्थ्य परीक्षणपश्चात समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधिकोसमेत व्यवस्था मिलाइएको थियो।