काठमाडौं- गिजा तथा दन्त प्रत्यारोपणसम्बन्धी नेपाली दन्त चिकित्सक समाजको नवौँ स्नातकोत्तर सम्मेलन सम्पन्न भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गिजा तथा दन्त प्रत्यारोपण विभागको आयेजनामा उक्त सम्मेलन गते सम्पन्न भएको हो।
प्राडा शिवलाल शर्माको अध्यक्षतामा भएको सो सम्मेलनमा देशभरका स्नातकोत्तर अध्यापन हुनेसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच शिक्षणसंस्थाहरु (वीर अस्पताल, पिपुल्स डेण्टल कलेज, कान्तिपुर डेण्टल कलेज, काठमांडौ विश्वविद्यालय शिक्षण अस्पताल) बाट प्राध्यापकहरु, कन्सल्ट्याण्ट चिकित्सकहरु, आवासिय चिकित्सकहरु, नोबेल मेडिकल कलेजबाट विशेषज्ञ चिकित्सकहरु लगायत विभिन्न ठाउँबाट डेण्टल सर्जनहरु र दन्त चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा १८ आवासिय चिकित्सकहरुले मौखिक र ९ आवासिय चिकित्सकहरुले पोस्टर वैज्ञानिक प्रस्तुतिहरु दिएका थिए भने अतिथि वक्ताहरु डा रिता सिंह र डा संजय साहको विशेष प्रस्तुतिकरण रहेको थियो।
'पेरियो फर अल, अल फर पेरियो' भन्ने अन्तरविभागिय समन्वय झल्काउने मुल नाराका साथ आयोजित सो कार्यक्रममा मुख्यतया गिजा तथा परिदन्तिय हाड तथा तन्तुहरुको दाँत लगायत शरीरका अन्य अंगहरुसँगको सम्बन्ध, शरीरका अन्य समस्याहरुले गिजामा पार्ने प्रभाव, गिजाको स्वास्थ्य अवस्थाले शारिरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव, दन्त प्रत्यारोपणमा भएका नविन र आधुनिक विकास र दन्त प्रत्यारोपणले मुख र सम्पुर्ण शरीरको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव सम्बन्धी वैज्ञानिक चर्चा—परिचर्चा भएको जानकारी कार्यक्रमका आयोजक सचिव डा सजिव श्रेष्ठले गराए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त रेक्टर प्राडा श्याम थापा क्षेत्रीले सो सम्मेलन आयोजना हुनु प्रतिष्ठानका लागि गर्वको विषय भएको बताए।