काठमाडौँ- मानव अधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यको पहुँचलाई कसरी बढाउने, जनशक्ति कसरी बढाउने लगायतका विषयमा छलफल भएको थियो।
विश्व स्वास्थ्य संघठन, मानव अधिकार आयोग र कोशिशको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा मानव अधिकार र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले आफ्नो प्रस्तुति राखेका थिए। उनले स्वास्थ्य सेवा विभागमा हाल मानसिक स्वास्थ्य नसर्ने रोग शाखामै भएकोमा अब आउने दिनहरुमा नसर्ने रोग र मानसिक स्वास्थ्य शाखालाई अलग गर्ने समेत बताए। 'हामीलेमानसिक स्वास्थ्यलाई छुट्टै शाखा बनाएर काम गर्ने योजना बनाएका छौँ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजन २०७७ पनि बन्दैछ। हामि विशिष्टकृत मानसिक स्वास्थ्य सेवामा काम गरिरहेका छौँ,' उनले भने।
त्यस्तै,विश्व स्वास्थ्य संघठनका तर्फबाट डा केदार मरहठ्ठाले पनि फरक क्षमता भएका, जोखिममा रहेका सबैलाई मानसिक स्वास्थ्य सेवाको पहुँच पुर्याउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तोपबहादुर मगरले आगामी दिनहरुमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यहरुमा आयोग सम्बन्धित निकायहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
कोशिशले मानसिक स्वास्थ्य समस्या भएर सडकबाट उद्दार र उपचार पश्चात सामान्य जीवन बिताई रहेकी एक महिलाको कथा डकुमेन्ट्री मार्फत देखाएको थियो।
पछिल्लो समय विश्व स्वास्थ्य संघठन र कोशिश मिलेर मानसिक स्वास्थ्यका विभिन्न आयामहरुमा काम गरिरहेका छन्।