(बाली)इन्डोनेसिया- डा बिमा आर्या सुगिआर्तो, सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा डटेर लागेका एक अभियानकर्ता हुन्। इण्डोनेसियाको बोगर सिटीका मेयर डा सुगिआर्तो आफ्नो नगर टोबाको फ्रि सिटी अर्थात् सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउन लागिपरेका छन्। उनी जनस्वास्थ्यका विद्यार्थी पनि हुन्। स्वास्थ्यको महत्व बुझेका उनी नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ विरुद्धको अभियानलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
सुर्तीजन्य पदार्थविरुद्धको अभियान सुरु गर्नु उनको लागि सहज थिएन। सुर्ती उद्योगले उनलाई दबाब र प्रभावमा पार्न नखोजेको होइन। तर कसैको दबाब र प्रभावमा नपरी आफ्नो अभियानमा कटिवद्ध रुपमा लागिरहे। यो सँगै जनचेतनाको कमी उनको लागि अर्को चुनौती बन्यो। तर आफ्नो राजनीतिक एजेण्डा र प्रतिवद्धतामा अडिक रहेका उनले विस्तारै सफलता हात पार्दै गए।
इण्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह एपीक्याटको सातौँ सम्मेलनमा सहभागी भएका मेयरमध्ये उनी पनि एक हुन्। उक्त सम्मेलनमा उनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि राजनीतिक बलियो प्रतिवद्धताको आवश्यक पर्ने बताए।
उनले भने, ‘सुर्तीजन्य पदार्थले नसर्ने रोगलाई बढाइरहेको छ। यसको नियन्त्रणका लागि राजनीतिक प्रतिवद्धताको आवश्यकता छ।’
सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि कर बढाउने, प्रयोगमा बन्देज लगाउने, विज्ञापनको प्रचार प्रसारमा रोक लगाउनुपर्ने उनले बताए। यो अभियानमा युवाहरु उनको पहिलो प्राथमिकतामा छ। सुर्तीजन्य पदार्थको प्रयोग गर्नेमा युवाहरुको संख्या बढी रहेको भन्दै उनी टोबाको फ्रि जेनेरेशन बनाउन आफु लागिरहेको बताउँछन्।
‘सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि युवाहरुलाई उत्प्रेरित गर्न आवश्यक छ। नेतृत्वकर्ताले पनि यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ। स्थानीय सरकारले पनि उत्तिकै महत्व दिनुपर्छ।’ उनले भने। सम्मेलनमा सहभागी अर्का मेयर हुन्, फ्रान्सिस एन्थोनी। इण्डोनेसियाको बालान्सा सिटी फिलिपिन्सका मेयर फ्रान्सिस एन्थोनीले पनि सुर्तीजन्य पदार्थ विरुद्धको अभियानलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
युथ क्याम्पियन, जनचेतनामूलक अभियान, स्थानीय सरकारको सुर्ती सम्बन्धी नीतिमा परिवर्तन गर्दै सुर्तीजन्य पदार्थ विरुद्धको अभियानलाई उनले अघि बढाउन थाले।
‘पोलिटिकल कमिटमेन्ट गराएको थिएँ। त्यसैले मैले के होला कसो होला भनेर सोच्दै सोचिन र अभियान सुरु गरिहाले। बाधा अवरोधलाई छिचोल्दे अघि बढिरहेँ,’ उनले भने।
डेन्पासार बालीका नगर प्रमुख गुस्टी एनगुराह जया नेगारा सन् २०२४ सम्ममा सुर्तिजन्य पदार्थको सेवन गर्ने युवाहरुको संख्या ९ दशमलव ४ बाट ८ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छन्। डेन्पासारका सबै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाएको भन्दै उनले टोबाको फ्रि सिटी बनाउने उनको अर्को लक्ष्य हो। तर मानिसको व्यवहार परिवर्तन निकै ठूलो चुनौती रहेको उनी बताउँछन्।
‘टोबाको फ्रि सिटी बनाउने मेरो प्रमुख प्राथमिकता हो।’ उनले भने, ‘युवाहरुलाई लक्षित गरेर काम गरिरहेको छु। तर मानिसहरुको व्यवहार परिवर्तन गर्नु ठूलो चुनौतिपूर्ण छ।’
सम्मेलनमा सहभागी टिमोर लिस्टेको दिली नगरपालिकाका मेयर ग्युलेरमिना फिल्मोमिनाले सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियानमा नागरिक तथा समुदायस्तरलाई जोडेर अघि बढेको बताए। उनले यसको नतिजा सकारात्मक रुपमा आइरहेको समेत जानकारी गराए। योसँगै १२ देशका ८२ शहरका नगर प्रमुख तथा प्रतिनिधि तथा स्वास्थ्य अधिकारीहरुले सम्मेलनमा आफ्नो अनुभव साटासाट गरिरहेका छन्। उनीहरुले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आफ्नो तर्फबाट कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह एपिक्याटमा अहिले १२ देशका ८२ वटा नगरहरु आवद्ध छन्। तीन दिने यो सम्मेलन कोभिड १९ महामारी पछिको भौतिक उपस्थितिमा भएको पहिलो सम्मेलन हो।