कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा सुसन श्रेष्ठले स्वास्थ्य क्षेत्रमा दुई दशक बिताइ सकिन्। विगत २१ वर्ष देखी बाल रोग विशेषज्ञ भएर काम गर्दा उनका कयौँ अनुभव छन्।
यतिखेर देशमा चाडपर्वको माहौल छ। सबै जना आफ्नो घर परिवारमा दसैँको तयारीमा छन्। तर उनको यस वर्षको दसैँ बिरामी बच्चाहरूको सेवामै बित्नेछ। यो वर्ष मात्र होइन, उनी गत वर्षको दसैँमा पनि अस्पतालको ड्युटीमै थिइन्।
कान्ति अस्पतालको एनआइसियुमा कार्यरत श्रेष्ठ भन्छिन्, ‘यस वर्ष दसैँको टिकाको दिनमा मेरो ड्युटी परेको छ। विगत तीन वर्षयताका सबै दसैँमा म ड्युटीमै थिएँ।’
२०७७ सालको दसैँमा नर्सहरूले अस्पतालमै टिका लगाउने रहर गरेपछि एक अर्कालाई टिका लगाएर रमाइलो गरेको अनुभव सुनाउँछिन् उनी। ‘दसैँ भन्ने बित्तिकै रमाइलो गरौँ भन्ने सबैलाई हुन्छ। त्यो वर्ष टिका लगाएर रमाइलो गरियो त्यसपछि फेरी फेरी त्यस्तै रमाइलो गरौँ भन्ने त हुन्छ तर सधैँ मिल्दैन। ड्युटी हाम्रो जिम्मेवारी हो। चाडपर्व भन्दा ड्युटी ठुलो लाग्छ,’ उनले भनिन्।’
उनको घर काठमाडौँ मै भएकाले ड्युटी बाहेकको समय परिवारसँग बिताउने गरेकी थिइन्। तर अहिले उनकी आमा बिरामी भएर अस्पतालमा भएकाले उनलाई दसैँ आए जस्तो भएकै छैन। ‘यो भन्दा अघिल्ला दसैँमा बुवा आमाको हातबाट टिका लगाएर ड्युटी आउने गरेको थिएँ। अहिले आमा अस्पतालमा हुनुहुन्छ। कहिले डिस्चार्ज हुन्छ थाहा छैन। सोही कारण अहिलेसम्म केही योजना बनेकै छैन,’ उनले भनिन्।
उनकी १५ वर्षीय छोरी पनि छिन्। ड्युटी र आमाको हेरचाह बाहेक छोरीसँग पनि समय मिलाएर रमाउने वातावरण मिलाउने उनी बताउँछिन्।
बाल्यकालको दसैँ
काठमाडौँ मै जन्मिएर यहीँ हुर्किएकी उनलाई दसैँ एकदमै मन पर्थ्यो। घरमा आफू भन्दा साना भाइ बैनी पनि थिए।
दसैँ सुरु भए लगतै आमाले विभिन्न मन्दिरमा पूजा गर्न लग्ने उनी सम्झिन्छिन्। ‘आफूलाई मन्दिर जान मन पर्दैन थियो। तर पनि ममीहरूले लैजानु हुन्थ्यो। उहाँहरूले पूजा गर्ने पालोको लागि हामी लाइन बस्ने गर्थियौं। अहिले सबै भाइ बहिनीहरू पनि बाहिर छन्। दसैँ त बाल्यकाल मै रमाइलो हुने रहेछ,’ उनले भनिन्। ‘टिकाको दिनमा रमाइलो हुन्थ्यो, ठुलो मान्छेहरू बाट टिका लगाउन सुरु गरिन्थ्यो। मैले पनि सानो भाइ बैनीलाई टिका लगाइदिन्थे, बैनीले पनि आफू भन्दा सानोहरूलाई टिका लगाउने गरेर रमाइलो गरिन्थ्यो। अहिले सबै जना जम्मा भएर चाडपर्व मनाउने सहजता नै मिल्दैन।’
अहिले चाडपर्वको समय भए तापनि डेंगु महामारीको रूपमा फैलिएकाले सतर्कता अपनाएर चाडपर्व मनाउन उनको सुझाव छ। ‘अहिले डेंगु महामारीको रूपमा फैलिएको छ, चाडपर्वको समयमा घरमा धेरै मानिसहरू हुन्छन्, भिडभाड हुन्छ, डेंगु हुन नदिन सतर्कता अपनाउनु पर्छ। ज्वरो खोकी हुने मौसम छ साथै, आफ्नो बालबालिकालाई कुनै समस्या भइरहेको छ की ध्यान दिने, मात्रा मिलाएर खानेकुरा खुवाउने र सुरक्षित तरिकाले दसैँ मनाउन अनुरोध गर्छु,’ उनले भनिन्।