चाडपर्वमा सबैलाई सकेसम्म परिवारसँगै रमाउन मन लाग्छ। तर सधैँ समय अनुकुल हुँदैन। त्यसमाथि कुनै–कुनै जागिर त जे आइपरे पनि छाड्नै नमिल्ने खालका हुन्छन्।
२०७५ सालको दसैंमा नर्स बिनिता खतिवडा पनि घर जान पाइनन्। मोरङको रमाइलोमा जन्मिएकी उनी त्यो समय नेसनल क्यान्सर हस्पिटल हरिसिद्धीमा कार्यरत थिइन्। त्यो जागिर पिसिएल नर्सिङ सकेपछिको पहिलो थियो उनको।
‘त्यति बेला घरमा हजुरबुबा बिरामी हुनुहुन्थ्यो। त्यही भएर दसैंभन्दा अगाडि नै घर गएर आएको थिएँ। त्यस कारण दसैंको बेलामा बिदा लिन मिलेन,’ उनी सम्झिन्छिन्।
दसैंको टीकाको दिन थियो। त्यही दिन बिनिताको आइसियुमा ड्युटी थियो। सामाजिक सञ्जालमा आफन्त र परिवारको फोटो देख्दा मनमा कस्तो–कस्तो लागिरहेको थियो उनलाई। भन्छिन्, ‘तर बिरामीको सेवामा खटिइरहँदा एक खालको खुसी पनि लाग्थ्यो’
विजयादशमीका दिन आइसियुमा उपचाररत एक बिरामीका परिवारले बुबासँग टीका लगाउने रहर गरे। अस्पतालले पनि आइसियुमा बिरामीको परिवारले इच्छा गरेको खण्डमा टीका लगाउन दिने गरेको थियो।
आफ्नै अगाडि बिरामी हजुरबुबाले आफ्ना परिवारलाई टीका लगाएको देख्दा बिनिताले पनि आफ्नो बिरामी हजुरबुबा सम्झिइन्।
बिनितालाई आफ्नो खाली निधार र हजुरबुबाको सम्झनाले तिनै आइसियुमा भर्ना भएका बुबासँग टीका लगाउने मन भयो। र, उनी अनुमतिका लागि सिनियर नर्सकहाँ पुगिन्। सिनियर नर्सको अनुमति पाएपछि ती बिरामीका आफन्तलाई सोधेर टीका लगाउने निर्णय गरिन्। बिरामीका आफन्तले पनि उनलाई खुसी हुँदै टीका लगाउन अनुमति दिए।
आफैँले दिनरात ख्याल गरिरहेका हजुरबुबाको उमेरको मान्छेसँग ड्युटीमै टीका लगाउन पाउनु उनको लागि ठूलो कुरा भयो।
बिनितालाई घर पुगेर आफ्नै हजुरबुबाको हातको टीका लगाएझैँ भयो। टीका लगाएर ती बिरामीले ५० रुपैयाँ दक्षिणा दिएको उनी सम्झिन्छिन्।
‘मैले पैसा पर्दैन, निधार खाली भएर टीका मात्रै लगाउन आएको हुँ भनें। तर उहाँले मान्नु भएन,’ उनले भनिन्।
टीका लगाउने बेलामा बिनिताले फोटो खिच्न लगाएकी थिइन्। केही बेरपछि उनले साथीहरुसँग त्यो फोटो फेसबुकमा हाल्नुप¥यो भनिन्। तर सिनियरहरुले यस्तो फोटो त भाइरल हुन्छ है भन्दै जिस्काए। नभन्दै उनीहरुले भने जस्तै भयो– बिनितालाई सामान्य लागेर अपलोड गरेको त्यो फोटो भाइरल भयो।
फोटो भाइरल भएपछि भने आफूलाई डर लागेको उनी बताउँछिन्। ‘फोटो जति भाइरल हुँदै गयो, त्यति डर लाग्न थाल्यो,’ बिनिताले भनिन्, ‘आइसियु भित्र फोन लगेर फोटो अपलोड गरेको भनेर अस्पतालबाट गाली खान्छु कि भनेर डर लागेको थियो।’
पछि अस्पतालका निर्देशक नै आएर आफूलाई राम्रो भन्दै स्याबासी दिएको उनले बताइन्।
त्यसको केही समयपछि बिनिताले त्यहाँको जागिर छाडिन्। जागिर छाडे पनि उनलाई ती बिरामीको सम्झना आइरहन्थ्यो। त्यसपछि उनले अन्नपूर्ण न्युरो अस्पतालमा काम सुरु गरिन्।
एक दिन अचानक एक जना व्यक्तिले बिनितालाई बोलाए। तर उनले ती व्यक्तिलाई चिन्न सकिनन्। उनले जो बिरामीसँग अस्पतालमा टीका लगाएकी थिइन्, उनकै छोरा थिए ती व्यक्ति।
पेटको आन्द्राको क्यान्सर भएर अस्पताल भर्ना भएका ती बुबाको निधन भइसकेको रहेछ। ‘बिरामीको ख्याल गर्दागर्दै बिरामीसँग एक किसिमको आत्मियता जोडिएको हुन्छ। उहाँको मृत्युको खबरले मलाई निकै नराम्रो लागेको थियो,’ उनले सुनाइन्।
भद्रपुरको मदन भण्डारी क्याम्पसबाट पिसिएल नर्सिङ गरेकी बिनिता अहिले ‘बिएण्डबि’ मा ‘ब्याचलर इन नर्सिङ’ (बिएन) पढिरहेकी छिन्। यो दसैंमा भने उनी घर जाने योजनामा छिन्।