पहिले–पहिले नेपालीका भान्साको अभिन्न अन्न थिए, गहुँ र जौ। गहुँ र जौका परिकार नपाक्ने भान्साको कल्पना समेत गर्न सकिँदैनथ्यो।
तर, परापूर्वकालदेखि खाँदै आइएको गहुँ र जौको च्याँख्ला यतिबेला धेरै नेपालीले बिर्सिन थालिसकेका छन्। बार्ली बियर, बार्ली सुप, बार्ली मुस्ली मात्र होइन, बरु हामी पूजा–आजाको लागि जौ छुटाउँदैनौं, तर भान्सामा राख्ने चलन भने हटाइसक्यौं।
अचेल हामी जौ–गहुँको जमराको जुस पिउन रुचाउँछौं। तर यिनका मौलिक परिकार रुचाउँदैनौं।
विदेशी मुलुकमा दाना जौ र गहुँको धेरै महत्व हुन्छ। दाना जौ–गहुँबाट सयौं परिकार तयार गरेर पस्कन सकिन्छ भन्ने ज्ञान हामीमध्ये धेरै कमलाई मात्र थाहा छ। छिमेकी देश भारतमा यसलाई दलियाको रुपमा चिनिन्छ भने अरबियन देशहरुमा बुरगुल भनेर चिनिन्छ।
युरोप, अमेरिका र अस्ट्रेलियामा पनि गहुँ–जौको च्याँख्ला ब्यापक प्रयोग गरिन्छ। स्वास्थ्यका हिसाबले यी दुवै अन्न अत्यधिक फाइदाजनक छन्। गहुँ र जौलाई फलेर बाहिरी आवरण फ्याँक्नासाथ पोलिसिङ नगरी च्याख्ला बनाएमा मात्र स्वास्थ्यवर्द्धक हुन्छ।
परापूर्वकालमा गाउँघरमा मकैको च्याँख्ला बनाए जस्तै गहुँ–जौको पनि च्याँख्ला कुटिन्थ्यो र थरीथरीका परिकार बनाइन्थ्यो। तर आजभोलि यी परिकार लोप हुन थालिसकेका छन्।
गहुँ–जौको च्याँख्लाबाट बन्ने परिकार
हाम्रो जिब्रो पूर्ण रुपमा स्वादे भइसकेको छ। जे हालेर बनाए पनि हरेक परिकार जिब्रोको रोजाइ अनुसार हुनुपर्ने भइसकेको छ। जिब्रोले स्वाद पाएन भने त्यो परिकार बहिष्कार गर्ने हाम्रो बानी नै बसिसक्यो। जताबाट पनि मिठो खान पर्यो। परिकार कत्तिको स्वास्थ्यमैत्री छ भन्ने हेक्का १० प्रतिशतलाई पनि हुँदैन। गहुँ र जौबाट बन्ने थुप्रै अस्वस्थ्य परिकार हामी दैनिक रुपमा उपभोग गरिरहेका छौं।
गहुँ र जौको च्याँख्लाबाट अत्यन्त स्वास्थ्यवद्र्धक परिकार बन्छन्। चामलका परिकार जस्तै गहुँ–जौका दानाको थुपै्र परिकार तयार गर्न सकिन्छ। गेडा गहुँ या जौलाई उसिनेर पनि खान सकिन्छ।
भात जस्तै पकाएर पनि खान सकिन्छ। भिजाएर, उसिनेर, सलाद बनाएर खान सकिन्छ। सुप बनाएर खान सकिन्छ। भुटेर सातु बनाई दूध, मही या पानीसँग घोलेर पिउन सकिन्छ।
यसैगरी पुवा, नैबेद, बाबर बनाएर खाजाको रुपमा खान सकिन्छ। चाम्रे, ढकनी या खिर बनाएर सेवन गर्न सकिन्छ। गहुँ–जौको दाना भुटेर खाजाको रुपमा लिन पनि सकिन्छ।
गहुँ–जौको च्याँख्लाका फाइदा
गहुँ–जौको च्याँख्लाबाट वृद्धवृद्धालाई हुने खिचडी बनाउन सकिन्छ भने बालबालिकालाई लिटो बनाएर खुवाउन सकिन्छ।
पोलस नगरिएको गहुँ या जौको च्याँख्लामा पर्याप्त मात्रामा फाइबर पाइने हुँदा निकै स्वास्थ्यमैत्री मानिन्छ। डाइबिटिज हुनबाट जोगाउँछ र कसैलाई पहिल्यै डाइबिटिज छ भने पनि गहुँ–जौको च्याँख्ला सेवन गर्दा फाइदा गर्छ। अत्यधिक मोटो शरीर हुनेहरुका लागि पनि यी दुवै अन्नका परिकार उपयुक्त हुन्छ।
गहुँ र जौले मुटुको रोग लाग्नबाट बचाउनुको साथै स्ट्रोक हुनबाट जोगाउन पनि मद्दत गर्छ। साथै गहुँ र जौका परिकार सेवन गर्दा क्यान्सर जस्ता डरलाग्दा रोग लाग्नबाट धेरै हदसम्म बचाउनुका साथै दीर्घ जीवन जिउन मद्दत गर्छ।