काठमाडौं- स्वास्थ्य खबरपत्रिकाले सांसद गगनकुमार थापालाई स्वास्थ्यखबर विशेष सम्मान गरेको छ। सांसदका रुपमा र जनप्रतिनिधिका रुपमा थापाले खेलेको भूमिकाका आधारमा स्वास्थ्यखबरको १० औं हेल्थ अवार्ड कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको हो।
स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न ८ वटा विधामा कोभिड च्याम्पियनका रुपमा हेल्थ अवार्ड प्रदान गरिएको हो भने पाँच वटा विधामा स्वास्थ्यखबर विशेष सम्मान।
०००
गगन थापा जब कुनै विषयमा सवाल गर्छन्– बोलीको वाणले विपक्षीलाई कक्रक्कै पार्छ। कोरोना कालभरि भने थापाले सवाल कम गरे। कोरोनाले सिर्जना गरेको सवालको समाधानको खोजीमा बढी सक्रिय भए। प्रतिपक्षी दलको सांसद भए पनि कोभिड–१९ ले आहत आमजनलाई राहत दिलाउन सरकारलाई सहयोग गर्ने तत्परता देखाए।
नीति निर्माताका रुपमा संसद्मा उनले कोरोनासँग सम्बन्धित विभिन्न सार्वजनिक महत्वका प्रस्तावहरु दर्ता गराए। आमजनको प्रतिनिधित्व गर्दै नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराए र आफूलाई सुझेका उपाय लिखित रुपमा पेस गरे।
सांसदका रुपमा संसद्बाट सरकारको ध्यानाकर्षण गराइरहे भने जनप्रतिनिधिका रुपमा आफूले प्रतिनिधित्व गर्ने क्षेत्रका बासिन्दालाई कोरोना संक्रमण हुनबाट रोक्न सचेत गराए। कोरोना भएपछि उपचारमा सहजीकरण गर्नुका साथै आत्तिएकाहरुलाई आडभरोसा दिने संयन्त्र बनाएर परिचालन गरे।
पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापा २०७६ पुस २२ गते कोरोना भाइरसको संक्रमण पुष्टिसँगै कोरोना केन्द्रित हुन थालेका हुन्।
माघ १६ गते विश्व जनस्वास्थ्य आपतकाल घोषणा भयो। चीनमा लकडाउन हुन थालेपछि त्यहाँ रहेका नेपाली बिचल्लीमा पर्ने अवस्था बन्यो। उनीहरु उद्धारका लागि हारगुहार गर्न थाले। थापाले २०७६ माघ २८ गते सरकारलाई अपिल गरे– वुहानमा रहेका नेपालीको पुकार सुन। सरकारले फागुन ४ गते उद्धार गर्यो।
कोरोनाको संक्रमण बढ्दै जाँदा त्यसले पार्ने असर–प्रभावबारे उनी सचेत थिए। प्राप्त भए जति जानकारी लिने कोशिस थाले। फागुन १५ गते उनले कोरोना भाइरसका बारेमा चेतनाका साथै अपिल गरे।
विश्वका अन्य देशमा देखिरहेकको कोरोना भाइरसको तीव्र रफ्तारले कुनै पनि बेला लपेट्न सक्ने सम्भावना थियो। चिकित्सक र अनुसन्धानकर्मीले यसबारे सचेत गराइरहेकै थिए।
सांसद थापाले फागुन १८ गते सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए। उक्त प्रस्तावमाथि सत्तापक्ष र विपक्षका गरी थापासहित ३९ जना सांसदले छलफलमा भाग लिएका थिए। ध्यानाकर्षण प्रस्ताव सर्वसम्मत पास भयो। ध्यानाकर्षण प्रस्ताव विस्तृतमा बनेको थियो। जहाँ सचेतना कसरी जगाउने, अस्पतालमा तयारी कसरी गर्ने, नेपालको स्वास्थ्य प्रणालीको सीमितता के छ, विदेशबाट फर्किनेलाई सीमानामा के गर्ने, स्वास्थ्यजन्य सामग्री कसरी राख्ने र स्थानीय तहसँग कसरी समन्वय गर्ने? उल्लेख थियो। उक्त प्रस्ताव सर्वसम्मत रुपमा पास भएर सरकारलाई आवश्यक तयारीका लागि निर्देशन दियो।
त्यसपछि फागुन २८ गते सर्वदलीय बैठक बस्यो। बैठकमा थापालाई संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको सांसदका रुपमा सहभागी गराइएको थियो। त्यहाँ पनि उनले विस्तृत रुपमा कार्ययोजना पेस गरे।
त्यसपछि सरकारले उच्चस्तरीय समिति बनायो। त्यसको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे। उक्त समितिमा पनि चैत ५ गते आफ्नो तर्फबाट थापाले कार्ययोजना पेस गरे।
त्यो बेला सरकारले आवश्यक तयारीमा लाग्नुपर्ने थियो भने जनतालाई सचेत पनि गराउनुपर्ने थियो। थापाले चैत २ गते नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशकलाई भेटेर जनचेतनका लागि सिआरबिटीका रुपमा कोरोना सम्बन्धी सामग्री प्रसारण गर्नेबारे छलफल गरे। जुन पछि कार्यान्वयनमा आयो र कोरोनाकालभरि नै प्रभावकारी रह्यो।
त्यो बेलासम्म नेपालमा एक जनालाई मात्रै संक्रमण थियो। चैत ९ गते अर्काे व्यक्तिमा संक्रमण पहिचान भयो। चैत ११ गते सरकारले लकडाउन नै घोषणा गर्यो। संसद् बन्द भएपछि उनले आफ्नो आवाज फेसबुक लाइभमार्फत आमजनमाझ पुर्याए। प्रधाननमन्त्री ओलीलाई लेखेको पत्रमा स्थानीय तहदेखि प्रदेशसम्म समन्वय गर्नुपर्ने सुझाव समेत थियो।
लकडाउन घोषणापछि परिस्थिति झन् जटिल बन्दै गयो। रोगसँगै भोकले समेत प्रभावित पार्न थाल्यो। आफ्नो एक महिनाको तलब सांसद कोषमा राख्ने घोषणा गरे र चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर ध्यानाकर्षण गराए। यसैगरी चैत २० गते स्थानीय तहका प्रमुख र उपप्रमुखसँग सामाजिक सञ्जालमार्फत अन्तक्र्रिया गरे।
लककडाउन थपिइरह्यो। संक्रमित थपिने क्रम सुरु हुन थाल्यो। स्वास्थ्य सामग्री अभाव हुने देखियो। चैत २६ गते फेरि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनले त्यतिबेला भनेका थिए, ‘तपाईंले ‘वार टिम’ बनाएर काम गर्नुपर्ने अवस्था छ। नेतृत्व गर्नुहोस्, हामी साथमा छौं। पूर्वस्वास्थ्य मन्त्री लगायत सरकारी प्रणालीभन्दा बाहिर रहेका विज्ञलाई मन्त्रालयकै एक कर्नरमा राख्नुहोस्। हामी योगदान गर्छौं।’
त्यो बेला आफ्नो एप्रोच सरकारलाई गाली गर्ने होइन, यो गरिनस् र त्यो गरिनस् भन्ने नभई सँगै काम गर्ने रहेको थापा बताउँछन्। ‘हामी सांसदका साथै पूर्वस्वास्थ्य मन्त्री हौं। यो अभियान सँगै लैजानुपर्छ। कुनै ठाउँमा काम दिए पनि तयार छौं भनेर कुरा राखेका थियौं,’ उनले भने।
प्रधानमन्त्री पछि उनी यही कुरा लिएर स्वास्थ्य मन्त्रालय पुगे। त्यसपछि लगातार दर्जनौं पटक संसद्मा बैठक भए संसदमा, बैठक नभए सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने काम जारी राखे। त्यहाँ उनले सकेसम्म धेरै समाधानका उपाय सुझाउने कोसिस गरे।
त्यसपछि विदेशमा अप्ठ्यारो परेका नेपाली आउन पाउने वा नपाउने, ल्याउने कसरी जस्ता समस्या देखिन थाले। वैशाख २९ गते उनले विदेशमा अलपत्र परेका नेपालीका उद्धारका विषयमा फेरि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव राखे। संसदमा छलफल भयो। त्यसपछि बजेट बनाउने समय आयो। तत्कालीन स्वास्थ्य मन्त्रीलाई भेटेर वैशाख ३१ गते उनले स्वास्थ्यकेन्द्रीत कार्ययोजना दिए र स्वास्थ्य केन्द्रित बजेटमा जोड दिन आग्रह गरे।
स्वास्थ्य संकटमा फेरि खाद्यान्न संकट नहोस् भन्नेतर्फ पनि उनले सरकारलाई सचेत गराए। किसानलाई बाली लगाउन समस्या परिरहेको बताउँदै कार्ययोजनासहित उनले आफ्नो कुरा सुनाएका थिए।
कोरोनाका विषयमा प्रशस्त अध्ययन नभएको समयमा विश्वकै वैज्ञानिक अलमलमा थिए। त्यसबार भ्रम फैलिरहेका थिए। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘बेसारले ठिक गर्ने’ अभिव्यक्ति दिए। त्यसको खण्डनका लागि पनि उनी नै अघि सर्नुपर्यो। आफूले जानेको सही बाटो सुझाउने र सरकार गलत बाटोतर्फ लाग्दा सचेत गराउने दुवै काम उनले कोरोना अवधिभर गरिरहे।
त्यसरी काम गर्न प्रेरित गर्नुको कारणबारे थापा भन्छन्, ‘हामी स्वास्थ्य मन्त्रालयमा काम गरेर आएको हुँदा के जानकारी थियो भने, एकाएक आइलागेको महामारीको व्यवस्थापन राम्रो स्वास्थ्य प्रणाली भएको मुलुकका लागि पनि गाह्रो छ। त्यसैले यो बेलामा प्रतिपक्षले नियमित र सामान्य रुपमा गर्ने काम गर्ने होइन। यो बेलामा हामी सरकारको सहयोगी हुनुपर्छ भन्ने लागेको हो।’
थापालाई यी कामका लागि स्वास्थ्य क्षेत्रमै रहेकाहरुको छटपटाहटले प्रेरित गरेको थियो। सरकारसँग सिधा पहुँच नभएका स्वास्थ्य क्षेत्रका मान्छेहरु सांसद थापालाई आफ्ना समस्या सुनाउँथे। कोही कसैले समाधानका उपाय पनि सुझाउँथे। आफ्ना कुरा कसैले सम्बन्धित ठाउँसम्म पुर्याइदेओस् भन्ने अपेक्षासहित उनीकहाँ पुग्थे। थापा आफैंले पनि उक्त क्षेत्रमा रहेका चिनेजानेकासँग नियमित संवाद गर्थे।
उनी स्मरण गर्छन्, ‘काम गर्दैगर्दा नयाँ चुनौती आउँथ्यो। स्वास्थ्य क्षेत्रका साथीहरुमा एकदम छटपटाहट पाउँथे। उनीहरुको कुरा सुन्यो, रिपोर्ट तयार गर्यो र संसद् भए संसदमा नभए सामाजिक सञ्जाल र बाहिर गएर बोल्यो। ध्यानाकर्षण गरायो।’
समस्या र समाधानबीचको पुलका रुपमा आफूलाई उभ्याउने मिठो अपेक्षा हुन्थ्यो थापाको। कतिपय काम उनको अपेक्षा अनुसार नै पनि भए। ‘यो विषयमा सरकारको ध्यानाकर्षण गराउन खोजेको छु भनेर भनियो भने यो दल र त्यो दल केही हुँदोरहेन छ। सबै साथ दिन तयार रहेको पाएँ,’ उनी सम्झिन्छन्, ‘स्थानीय सरकारका साथीहरुले यो पार्टी, त्यो पार्टी नभनेर सहजतापूर्वक लिनुभयो। अरु दलहरुले सम्पर्क गरेर मद्दत माग्नुभयो। यसरी काम गर्दा राजनीतिक दलभन्दा फरक रहेर काम गर्ने अवस्था सजिलै बन्दो रहेछ।’
तर, सधैं मिठो अनुभव भने गर्न पाएनन् थापाले। आफूले औचित्यपूर्ण कुरा गर्दा पनि पार्टीगत पक्षधरताका कारण त्यसलाई सहज रुपमा नलिएको उनी बताउँछन्। भन्छन्, ‘आइसियुको बेड कम हुँदा हामीले क्रिटिकल केयर कसरी दिने लगायतका सुझावसहित प्रधानमन्त्री कहाँ पनि गएँ। लामो रिपोर्ट दिएँ। हाम्रो एउटै कुरा हामीलाई पनि काम देऊ भन्ने थियो। त्यहाँनेर अनुभव तितो रह्यो। तर काम चाहिँ गरिरह्यौं।’
अर्काे, निर्वाचन क्षेत्रसँग जोडिएको काममा उनको अनुभूति तितो रह्यो। फरक पार्टीको स्थानीय सरकारसँग मिलेर उक्त निर्वाचन क्षेत्रमा काम गर्ने उनको योजना कार्यान्वयन हुन सकेन। उनी भन्छन्, ‘नगरपालिकामा जाँदा सँगै मिलेर काम गरौं भन्दा स्वागत भएन। आमजनलाई परामर्श चाहिएको थियो, संरचना सरकारकै थियो तर केही ग्याप थियो। स्थानीय सरकार सहयोगी नदेखिएपछि आफैं भए पनि गर्छु भनेर एउटा संरचना बनाएँ।’
थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ मा सुरुमै ‘परामर्श केन्द्र’ चलाए। परामर्श केन्द्र एक पल्ट त कल सेन्टर चलाएजस्तै फोनहरु आएको उनी सम्झिन्छन्।
यसैगरी आफैंले ‘हेल्थ एट होम’ सँग बसेर कोभिड भएको मान्छे ट्रेस गर्दै फलो गर्ने संरचना उनले तयार पारे। त्यसपछि उनकै पहलमा काठमाडौं ४ मा आइसोलेसन सेन्टर चल्यो। ‘आइसोलेसन सेन्टर चलाउँदा सेवा लिन अस्पताल आवातजावत गर्ने समस्या ठूलो रहेको थाहा भयो,’ उनले भने, ‘हामीले १० वटा गाडी एक ठाउँ राखेर जसले फोन गरे पनि अस्पताल लैजाने र ल्याउने व्यवस्था गर्यौं।’
निर्वाचन क्षेत्रमा पनि उनी चीनमा कोरोनाको प्रभाव सुरु भएदेखि नै सक्रिय भए। सांसदका तर्फबाट उनको समूहले भनेर फागुन १७ गते नै निर्वाचन क्षेत्रमा आह्वान गर्यो– चीनमा कोही आफन्त छन् भने खबर गर्नुहोस्। सतर्क रहनुहोस्। केही समय विदेश जान रोकिनुहोस्।’
यसैगरी निर्वाचन क्षेत्रमा एैंचोपैंचो कार्यक्रम सुरु गरे। मजदूरलाई सामूहिक भोजन गराए। सार्वजनिक ठाउँमा खाना खाने व्यवस्था गरे। मास्क र पर्चा घरघर पुर्याउने अभियान चलाए। निर्वाचन क्षेत्रका लागि पनि १५ दिनको तलब कोरोना कोषमा उपलब्ध गराए।
यो पनि :
१. कोभिड च्याम्पियन चिकित्सक : अप्ठ्यारोका भरोसा डा अनुप बास्तोलालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
२. कोभिड च्याम्पियन जनस्वास्थ्यकर्मी : कोभिड–१९ विरुद्धको भरपर्दा सारथी चापागाईंलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
३. कोभिड च्याम्पियन प्रयोगशालाकर्मी : स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
४. कोभिड च्याम्पियन स्वास्थ्यकर्मी : मुस्ताङमा खोप लैजान ज्यानको बाजी लगाउने स्वास्थ्यकर्मी रोकायालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
५. कोभिड च्याम्पियन नर्स : भेरी अस्पतालकी नर्स गुरुङलाई युनाइटेड इमेजिक हेल्थ अवार्ड
६. कोभिड च्याम्पियन स्वास्थ्यकर्मी : वृद्धालाई बोकेर कोभिड खोप लगाउन लैजाने स्वयंसेविकालाई युनाटेड इमेजिङ हेल्थ अवार्ड
७. कोभिड च्याम्पियन एम्बुलेन्स : निःशुल्क सेवा दिने नेपाल एम्बुलेन्स सर्भिसलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
८. कोभिड च्याम्पियन अस्पताल: कोभिड महामारीमा प्रभावकारी सेवा दिने शुक्रराज अस्पताललाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
स्वास्थ्यखबर विशेष सम्मान:
१. संक्रमितको उपचारमा सक्रिय सशस्त्र अस्पताल
२. नागरिकका स्वास्थ्यका लागि नगरपालिका
३. गाउँमै स्वास्थ्य सेवा
४. प्रहरी: कोभिड नियन्त्रणको फ्रन्टलाइनर ‘हिरो’
५. सवालमा छ पहिचान, सुझाइरहे समाधान