काठमाडौं– कोरोनाको पहिलो लहर चलिरहेको थियो। छिमेकी भारतले लकडाउन घोषणा गर्यो। नेपालमा पनि कोरोनाको ग्राफ उकालोतिर लम्कियो। नेपाल सरकारले लकडाउन घोषणा गर्यो। भारतमा ठूलो संख्यामा रहेका नेपालीहरु घर फर्कन थाले। यसको असर भारतसँग सीमा जोडिएका जिल्लाहरुमा पर्न थाल्यो।
विश्वभर फैलिएको कोरोनाको आतकंसँगै स्थानीय सरकारलाई भारतबाट फर्केकाहरुलाई कसरी व्यवस्थापन गर्ने अनि समुदायमा फैलन नदिने भन्ने चिन्ता सुरु भयो। २०७७ साल कोरोनाको मारका बिचमा सबैभन्दा चर्चामा बाँकेको नरैनापुर गाउँपालिका आएका थियो। भारतवाट आफ्नो घर पसेका नागरिकहरु घरघरमै सिधै जान थालेपछि उक्त गाउँपालिका एक्कासी हटस्पट भएको थियो। २०७७ जेठ ११ गते सरकारले नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरेर सेना परिचालन नै गर्नुपर्ने अवस्था आयो।
गाउँपालिकाका तत्कालीन अध्यक्ष इस्तियाक अहमद साह अहिले पनि उक्त दिन सम्झेर भक्कानिन्छन्। ‘एकै पटक चारैतिरवाट समस्याले घेरेर कता जाने के गर्ने कसो गर्ने भयो’ उनले सम्झना गरे ‘मेरो त होस नै उडेको थियो। सवै गाउँका मानिसहरुलाई सम्हाल्नै सकेका थिएनौं।’ एक्कासी आइपरेको यो अवस्थाको बारेमा सार्वजनिक सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेपछि सरकारले सेना परिचालन गर्दैै उचित व्यवस्था गरेपछि तत्कालीन अवस्था नियन्त्रणतिर आएको उनले उक्त घटना सम्झना गरे।
सीमापारी आएर रोकिएका ८ सय युवालाई गाउँपालिकाले वैशाख अन्तिम साता उद्धार गरेर ल्याएको थियो। गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखियो र परीक्षण सुरु गरियो। गाउँपालिकामा कोरोना नियन्त्रण, व्यवस्थापन र उपचार लगायतका अन्य कुरामा साह लगायतको टोली थप सक्रिय बने। उनले गाउँपालिकामा भएका राम्रा अभ्यासका विषयमा अन्य पालिकाहरुलाई पनि जानकारी गराए।
नरैनापुर मात्र होइन कोरोना महामारीका समयमा देशभरमा रहेका ४६० गाउँपालिकाले नै कुनै न कुनै समस्या भोगेका थिए। उनीहरुमध्ये अधिकांसले महामारीको समयमा आएका चुनौतीको समाना डटेर गर्दै नागरिकलाई घरआँगनमै सरकार भेटिएको भरोसा दिलाउन सकेका थिए। महामारीको समयमा धेरै गाउँपालिकाका जनप्रतिनिधले आफैंले घर–घरमा पुगेरका औषधि, मास्क लगायतका सामग्री वितरणसँगै राहत पनि दिन सफल भए।
गाउँपालिकाहरुले उक्त समयमा आफूहरु अब्बल रहेको सावित गरेको गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायाण श्रेष्ठले बताए।
जनताको सरकार भएकाले उनीहरुलाई दायित्व पनि भएको र जिम्मेवारी पनि वोध गरेर तत्कालीन समयमा गाउँपालिकाहरुले क्वारेनटाइन बनाउने, नागरिकलाई अस्पताल पुर्याउने देखि बिरामीको परिवारलाई हौसलासम्म दिने कार्य गरेका थिए। त्यस्तै कोरोनाका संक्रमितको घरमा कोही पनि जान नमानेको अवस्थामा गाउँपालिका अध्यक्षहरुले घरमै पुग्ने, अस्पतालसम्म लैजान सहयोग गर्ने, शव व्यवस्थापनसम्म गर्ने कार्य गरेको गाउँपालिका महासंघका कार्यकारी निर्देशन राजेन्द्र प्याकुरेलले बताए।
लकडाउनका कारण रोजगारी गुमाएका विपन्न समुदायलाई राहत वितरण, हात धुने तथा सरसफाइसम्बन्धी सुविधा, एम्बुलेन्स सेवाको व्यवस्थापन, सम्भाव्य संक्रमितको जानकारी सम्बन्धित स्थानमा पुर्याई उपचार प्रक्रियामा सहजीकरण कार्य गाउँपालिका जनप्रतिनिधिले सफल रुपमा गरेको उनको वुझाई छ। स्थानीय जनप्रतिनिधिको सहयोगका कारण कोरोना प्रभावितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र विवरण संकलनमा सरकारलाई सहयोग भएको नत्र धेरै समस्या भोग्नुपर्ने अवस्थामा सहज भएको उनको भनाई छ।
महामारीको समयमा स्थानीय सरकारले धेरै असल अभ्यास गरेको अध्यक्ष श्रेष्ठको अनुभव छ। वडा तहमै स्थानीयहरुलाई समन्वयन गर्नेदेखि कोरोना प्रभावितलाई सरकार छ भन्ने प्रत्याभुति कसैले दिएको छ भने त्यो स्थानीय सरकारले दिएको उनको दाबी छ।
कोरोना नियन्त्रणका लागि स्थानीय तहका अध्यक्ष/प्रमुखको अध्यक्षतामा सबै वडाध्यक्षसहितको समिति नै बनाएर काम गरेकोले स्थानीय तह आवश्यक रहेछ भन्ने महसुस गराउन सफल भएको उनले बताए।
‘महामारीको समयमा स्थानीय सरकार नभएको भए धेरै विकराल अवस्था हुने थियो’ श्रेष्ठले भने ‘तत्कालीन अवस्थामा गाउँपालिकाहरुले उच्चस्तरीय कार्य गरेर सरकार भएको कुरा जनतालाई दिएका छन्।’
स्थानीयहरुलाई आफ्नो सरकार छ भन्ने महशुस गराउनका लागि वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति बनाएर पनि काम गरेको उनले बताए। कतिपय गाउँपालिका प्रमुखहरु आफ्नो परिवार अस्पतालमा हुँदा पनि शव उठाउने देखि कोरोना संक्रमित र खान नपाउनेहरुको घर पुगेर राहत वितरण गर्नेसम्म कार्य गरेको महासंघका कार्यकारी निर्देशन प्याकुरेलको अनुभव छ।
कोरोनाको पहिलो लहरका क्रममा गाउँपालिकाहरुले क्वारेनटाइन व्यवस्थापन र कोरोना नियन्त्रण देखि लकडाउनका कारण मारमा परेको मानिसहरुलाई खाद्यान्य समेत वितरण गर्ने कार्य उत्कृष्ट रुपमा गरेको उनी बताउँछन्। त्यस्तै दोस्रो चरणमा बिरामीहरुको उपचार र जनचेतना जगाउने कार्य गाउँपालिकाले गर्न सफल भएको उनको अनुभव छ।
तेस्रो चरण अर्थात खोप लगाउने कुरामा पनि स्थानीय तहको भुमिका महत्वपूर्ण भएको उनी बताउँछन्। गाउँ गाउँमा खोप पुर्याउने देखि मानिसहरुलाई खोप लगाउनुपर्ने जनतचेतना जगाउने कार्य गरेको उनले बताए। नेपालमा खोप ठुलो मात्रामा लगाउनेहरुको संख्या वढ्नुमा गाउँपालिकाको पनि भुमिका रहेको उनले बताए।
कोरोना महामारीको समयमा गाउँपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यखबरले यस वर्ष गाउँपालिका महासंघलाई विशेष सम्मान गरेको छ।