काठमाडौं– भक्तपुर नगरपालिकाले महामारीको समयमा आफैंले कोभिड अस्पताल निर्माण गर्यो। नेपाल सरकारले कोभिड अस्पताल ७५ शय्याको सञ्चालन गर्न अनुमति दिएको छ। तर, भक्तपुर नगरपालिकाले भने १०० शय्याको निर्माण गरेको छ। आमजनतालाई साथमा लिएर उसले उक्त अस्पताल निर्माण तथा सञ्चालन गरिरहेको छ।
संक्रमण तिब्ररुपमा बढेसँगै नगरपालिकाले सरकारसँग अक्सिजन प्लान्ट निर्माण गर्न माग गर्यो। सरकारले नगरपालिकालाई २० वटा मात्र सिलिन्डर दिएपछि आफैं प्लान्ट निर्माण गर्न अघि सरेको हो। अस्पतालले १२० सिलेन्डर क्षमताको अक्सिजन प्लान्ट निर्माण गरेर सम्भावित दुर्घटना रोक्यो।
नगरले १५ दिनमै निर्माण पूरागर्ने लक्ष्य लिएर १८ दिनमै सम्पन्न गरेको थियो। ‘नगरवासीले नै साढे एक महिनामा ६ करोड रुपैयाँ जम्मा गरेपछि यो अस्पताल सञ्चालनमा आएको हो,’ नगरपालिका प्रमुख सुनिल प्रजापति भन्छन्।
प्रायः सवै नगरपालिकाले कोभिडको बेला शहरबाट गाउँ जाने यातायातको व्यवस्था गरिदिए। बाजुराको बडिमालिका नगरपालिकाका केही वडाहरुले शहरमा बस्ने आफ्ना विद्यार्थीहरुलाई चामल किन्ने पैसा समेत दिएका थिए।
कोभिडका समयमा स्थानीय सरकारले आफ्ना नागरिकको उत्तरदायित्व यसरी महशुस नगरेको भए संकट अझै गहिरो हुन सक्थ्यो। पहिलोपटक गरिएको स्थानीय तहको अभ्यासमा उनीहरु सिक्दै थिए। तर, त्यही अवस्थामा पनि जनताका साथमा उभिएर र आपतकालमा आफन्त दरिए।
कोभिडताका खोप अभियान, कोभिड अस्पतालको निर्माण, अक्सिजन प्लान्टको निर्माण, घरघरमा स्वास्थ्यकर्मी, कोरोना कोशेली, यातायातको व्यवस्था जस्ता अनेक कार्यक्रम त्यो बेला नगरपालिकाहरुले सञ्चालन गरेका पाइएको छ। संक्रमणबाट मृत्यु भएका आफन्तलाई क्रिया खर्च पनि वितरण गरेर राहत दिएका थिए। कोरोना अवधिभर सचेतना कार्यक्रम चलाएका थिए।
कोभिड–१९ को समयमा नगरपालिकाले संक्रमण हुन नदिन र संक्रमणपछि उपचारका साथै व्यवस्थापनमा आफूहरुले सहयोग गरेको धुलिखेल नगरपालिकाका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु बताउँछन्। पालिकाले स्थानीय सरकारको दायित्व महशुस गर्नुका साथै नगरका प्रमुख र उपप्रमुखले व्यक्तिगत रुपमा समेत सहयोग गरेका उनी बताउँछन्।
नगरपालिका संघले त्यो बेला नगरपालिकालाई विशेष निर्देशन गरेको थियो। उनी भन्छन्, ‘अध्यक्षको नाताले सबै भन्दा पहिले सबै नगरपालिकाको कोभिडको विषयमा हामीहरुले सजग हुनका लागि, त्यसका ध्यानाकर्षण गर्न, योजना, कार्यक्रम तथा नीति बनाउन र बजेट विनियोजित गर्न हामीले अनुरोध गरेका थियौँ।’
नगरका गाडी नै एम्बुलेन्स
खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिए।
यसैगरी म्याग्दीको बेनी नगरपालिकाका तत्कालिन नगरप्रमुख हरिकुमार श्रेष्ठले कोभिडको समयमा नगरप्रमुखले आफ्ना निजी दुई गाडीसमेत सार्वजनिक प्रयोगमा लगाए। पालिकाभित्रका कोरोना संक्रमित बिरामी बोक्न ती गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरियो। चालकको नगरपालिकाले नै व्यवस्था गरेको थियो।
रुपन्देहीको तिलोत्तामा नगरपालिकाले पनि कोभिडको बेला प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका गाडी एम्बुलेन्सका रुपमा प्रयोगमा ल्यायो। तत्कालिन प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले कोभिड संक्रमण बढेसँगै बिरामीका लागि भनेर दिएका थिए।
त्यस्तै, उदयपुरको बेलका नगरपालिकाले पनि प्रमुखले प्रयोग गर्दै आएको गाडी कोभिडका बिरामीका लागि दिएका थिए।
घरघर पुगेर सेवा
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को समयमा स्वास्थ्यकर्मीलाई लिएर संक्रमितको घर–घर गएर सेवा दिएको थियो। कोभिड संक्रमणमा परेर बुटवलमा आइसोलेसनमा बसेका नागरिकलाई घर–घरमै पुगेर आयुर्वेद औषधि प्रदान गर्ने र उनीहरूको मनोबल बढाउने कामसमेत भएको थियो।
रुपन्देहीकै देवदह नगरपालिकाले पनि स्वास्थ्यकर्मीको टोलीसहित कोभिड संक्रमितको घर–घरमा गएर आत्मबल बढाउनका लागि विभिन्न खालका परामर्श दिएको थियो।
कैलालीको घोडाघोडी नगरपालिकाले कोभिड–१९ को बेला घर–घरमा गएर आत्मबल बढाउने काम गरेको थियो। कोरोना संक्रमण भएर होमआइसोलेसनमा बसेकाहरूको हौसला बढाउन नगरप्रमुख चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितका घरघरमा पुगेर रोगसँग लड्ने उर्जा दिने काम गरेका थिए।
त्यस्तै, पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोभिडको समयमा नगरप्रमुख नरेन्द्रकुमार गुप्तासहितको टोली कोभिड–१९ संक्रमितहरूको घर–घरमै पुगेर औषधि वितरण सुरु गरेको थियो। नगरभित्रका सबै बिरामीलाई स्वास्थ्यकर्मीमार्फत घरमै गई परामर्श दिने र औषधिसहित स्वास्थ्य सामग्री वितरण गरेको थियो।
रामग्राम जस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले कोभिडको बेला संक्रमितको घर–घरमा गएर औषधि वितरण गरेको थियो।
नगरप्रमुख देवकुमार सुवेदीले संक्रमितको घरघरमै पुगेर आवश्यक औषधि र अन्य स्वास्थ्य सामाग्री वितरण गरेका थिए। नगरपालिकाले पारासिटामोल, जीवनजल, जिंक चक्की, एजिथ्रोमाइसिन, भिटामिन बी र सी, साबुन, कोलगेट, ब्रससहितको कोरोना किट तयार पारेको थियो।
उक्त कोरोना किट र स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरघरमै पुगेर बिरामीलाई आवश्यक औषधि र परामर्श दिने काम गरेका छन्। यी मात्रै होइन, यहाँ उल्लेख नभएका थुप्रै नगरपालिकाले गरेका छन्।
धुलिखेल नगरपालिकाका प्रमुख व्याञ्जु कोरोना हुँदा औषधिदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियानसम्म आफूहरु सक्रिय भएको बताउँछन्। धुलिखेल नगरपालिका यो अभियानमा अग्रपंतिमा रहेको उनले बताए।
आफूले काम गर्नुका साथै अस्पतालसँग समन्वय गरेर समेत केही काम गरिएका थिए। उनी भन्छन्, ‘काठमाडौं विश्वविद्यालय अन्तर्गत अस्पताल र नगरपालिका संघ मिलेर प्रत्येक पालिकामा विदेशबाट फर्किएका मानिसहरुको तथ्याङ्क लिएर उनीहरुलाई मनोसामाजिक परामर्श समेत गरियो।
अन्तराष्ट्रिय क्षेत्रमा कोभिडका विषयमा भएका ज्ञान, त्यहाँका अभ्यास अनुसन्धान, त्यहाँको भोगाईलाई हामीले जनप्रतिनिधि, कर्मचारी, र स्वास्थ्यकर्मीलाई जानकारी गराएर यसकाविरुद्ध परिचालन गरिएको समेत उनले बताए।
कोरोना कोषमा तलबभत्ता
उदयपुरको कटारी नगरपालिकाका तत्कालिन नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले तीन महिनाको तलब भत्ता कोरोना कोषमा जम्मा गरेका थिए। बाग्लुङ्गको ढोरपाटन नगरपालिकाले कोभिडको समयमा धौलागिरि अस्पताललाई अक्सिजनका लागि आर्थिक सहयोग गरेको थियो।
नगरप्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र ५ लाख रुपैयाँ नगद सहयोग गरेका थिए। कोभिडका बिरामीको उपचारमा सहयोग पुर्याउन नेपालीले अस्पताललाई सिलिन्डर र नगद दिएका थिए। उनले ३० थान अक्सिजन सिलिन्डरका लागि व्यक्तिगत रुपमा सहयोग गरेका थिए।
यसैगरी झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाबाट पाएको पारिश्रमिक तथा भत्तावापतको १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा प्रयोग गरे।
कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएपछि नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न पोखरेलले आफ्नो पारिश्रमिक दिएका हुन्।
त्यस्तै तनहुँ व्यास नगरपालिकाका जनप्रतिनिधिले कोभिडको बेला आफनै तलबभत्ताबाट पीसीआर प्रयोगशाला निर्माण गरेका थिए। संक्रमितको संख्या बढेको र स्वाबको रिपोर्ट ढिला आएकाले प्रयोगशाला निर्माण गरिएको थियो।
संघको नेतृत्व, पालिकाको कार्यान्वयन
नगरपालिकाका अजेन्डालाई बुलन्द गर्न नगरपालिका संघ बनेको छ। संघले पालिकालाई कोभिडका समयमा समन्वय गर्ने काम गर्यो। यति मात्रै नभएर विदेशमा रहेका नेपाली र दातृ निकायसँग समन्वय गरेर कोभिड–१९ का लागि जरुरी सामाग्री ल्याइएको व्याञ्जु बताउँछन्।
नगरपालिका संघले धेरै नगरपालिकाहरुलाई विदेशबाट स्वास्थ्य सामाग्री ल्याएर वितरण गरेको उनको भनाइ छ। विशेष गरेर सीमा क्षेत्रका नगरपालिकाहरुलाई बढी ध्यान दिएको उनी बताउँछन्।
नेपालको सबै नगरपालिकाहरुमा कोभिड संक्रमितहरुको डाटा ल्याएर संघ र प्रदेश सरकारलाई ध्यानार्कषण समेत गरेको थियो।
संविधानअनुसार सरुवा रोग तथा महामारी नियन्त्रण गर्ने जिम्मा संघीय सरकारको हो। तर, महामारीमा त्यो सीमा भन्दा माथि उठेर आफूहरुले काम गरेकको उनी बताउँछन्। उनी भन्छन्, ‘संविधानमा प्राथामिक स्वास्थ्य मात्र स्थानीय सरकारको जिम्मेवारी हो । तर हामी बाँधिएनौं। राम्रो काम गर्न कानुनको सीमामा बस्न नहुने हामीले ठान्यौं।’
संघीय सरकारले गर्नुपर्ने काम एक्लैले गर्न नसकेर तीन तहका सरकारको अधिकारमा बाँडेकाले सवैका दायित्व बराबर रहेको महशुस आफूहरुलाई रहेको उनी बताउँछन्। ‘त्यसकारण हामीले त्यसमा हामीले विस्तृत कानुन हेरेनौं’, उनी भन्छन्, ‘कोभिड–१९ मा हामीले मानवीयता मात्रै हेर्यौं। मान्छे बाँच्यो भने मान्छे भित्र असंख्य सम्भावना हुन्छ भन्ने हामीले महशुस गरेर काम गरेका हौं। मान्छे नै समाप्त भयो भने भवनको आवश्यकता किन भनेर कोभिड–१९ मा जोड दियौं।’
संघले यही मान्यतालाई अख्तियार गरेर नगरपालिकाहरुलाई अघि बढ्न प्रेरित गर्यो। काठमाडौं नजिकको र त्यसमा पनि राजमार्ग समेत रहेको ठाउँ धुलिखेलका नगरप्रमुख भएकाले व्याञ्जुसँग पनि धेरै दायित्व थिए। संघ र नगर दुवैमा उनले कुशल नेतृत्व गरे। जसका कारण जनताले दोहोर्याएर जिताएका छन्।
नगरपालिकाबाट महामारीमा भएका कामको सम्मान गर्दै स्वास्थ्यखबरले यस वर्ष नगरपालिका संघलाई विशेष सम्मान गरेको हो।